गत ११ र १२ गते मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन पाउने समय आज साँझ पाँच बजेसम्म छ । त्यस बेलासम्ममा उम्मेदवारी फिर्ता गराउन सत्ता गठबन्धनका नेताहरु आज वागी उम्मेदवारहरुलाई मनाउने अन्तिम प्रयासमा जुटिरहेका छन् ।
गृहमन्त्री बालकृष्ण खाँड र राज्यमन्त्री उमेश श्रेष्ठ चितवनमै बास बसेर पार्टीका वागी उम्मेदवार जगन्नाथ पौडेललाई मनाउने प्रयास गरिरहेका छन् । हिजो दिनभरको प्रयास सफल नभएपछि गृहमन्त्री खाँण गत रात चितवनमै बास बसेर आज अन्तिम प्रयास गर्दैछन् ।
माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाललाई भरतपुर महानगरको प्रमुखमा फेरि पनि उम्मेदवार बनाउने र कांग्रेसले उम्मेदवारी नदिने गरी भएको केन्द्रको तालमेलको विरोधमा चितवन कांग्रेसका नेताहरु शुरुदेखि नै पार्टी र गठबन्धनविरुद्ध सक्रिय रहिआएका छन् ।
कांग्रेसका प्रभावशाली व्यक्ति स्वतन्त्र उम्मेदवार बनिरहेमा दाहालले हार्ने र एमालेले जित्ने सम्भावना भएकोले गठबन्धनका प्रमुख नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल र प्रचण्डले जगन्नाथलाई पछि हट्न मनाउने प्रयत्न गर्दै आएका हुन् ।
पोखरा महानगरमा पनि नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यलाई गठबन्धनले उम्मेदवार बनाएपछि कांग्रेसीहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ऋषि सापकोटा र नन्दु तिवारी समेत तीन जना कांग्रेसका वागी पोखरामा खडा भएका हुन् । उनीहरुलाई पनि मनाउने प्रयास जारी छ । तर गृहमन्त्री नै बास बसेर मनाउने काम भरतपुरमा मात्रै भएको छ ।
अन्यत्र पनि कांग्रेसीहरुले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ठाउँमा तिनका उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले सार्वजनिक आह्वान गरिसकेका छन् । गठबन्धनको निर्णय कार्यान्वयन गरी प्रतिगमन रोक्नु पर्ने भनाइ देउवाको रहेको छ ।