नेपाल सरकारले १० वटा वस्तुलाई विलासिताका वस्तुमा सूचीकरण गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ । तिनको आयातमा पूर्ण बन्देज लगाउन सरकारले विलासिताका वस्तुको सूची निकालेको हो । तर करीब साढे दुई महिनाका लागि मात्रै ती विलासी वस्तुको आयातमा रोक लगाइएको हो । अर्थात्, २०७९ असार मसान्तसम्मका लागि पैठारी बन्देज लगाइएको हो ।
विलासी भनी बन्देज लगाइएका खाना : कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन ।
सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु । तर कच्चा पदार्थ ल्याउन भने बन्देज लगाइएको छैन ।
गहना: हिरा ल्याउन पाइने छैन । सुन आयातमा प्रतिबन्ध लगाइएको छैन ।
मोबाइल सेट: ६ सय अमेरिकी डलरभन्दा बढी मोलका मोबाइल सेट । नेपाली मुद्रामा हिसाब गर्दा ७४ हजार रुपैयाँसम्मका मोबाइल सेट ल्याउन पाइने र त्योभन्दा बढीका सेटलाई सरकारले बिलासी वस्तुमा राखेको छ ।
टेलिभिजन: ३२ इञ्चभन्दा माथिका टेलिभिजन सेट ल्याउन बन्देज छ ।
सवारी साधन: जीप,कार, भ्यान ल्याउन बन्देज छ । एम्बुलेन्स र शववाहन आयातमा रोक छैन ।
मोटरसाइकल: २५० सीसी माथिका मोटरसाइकललाई बिलासी मानिएको छ । अन्य मोटरसाइकल ल्याउन रोक लगाइएको छैन ।
तास र खेलौना भने सबैलाई बन्देज लगाइएको छ ।
यसअघि पैठारीका लागि बैंकिङ प्रक्रिया सम्पन्न भैसकेकाहरुका लागि भने बन्देज नहुने पनि राजपत्रको सूचनामा उल्लेख छ ।