राष्ट्र भनेको भौतिक वा राजनीतिक एकाइ होइन, सांस्कृतिक एकाइ हो । भूगोल र भौतिक कुरा मात्र राष्ट्र होइनन् । राष्ट्र सांस्कृतिक जगमा अडिएको हुन्छ ।
धर्मले संस्कार बनाउँछ । संस्कारले संस्कृति निर्माण गर्छ । संस्कृतिले सभ्यता बनाउँछ । त्यस सभ्यतामा राष्ट्र र राष्ट्रियता अडिएको हुन्छ । तसर्थ राष्ट्र र राष्ट्रियता भन्ने बित्तिकै धर्म संस्कृति सँगै जोडिएर आएको हुन्छ । धर्म संस्कृति र राष्ट्र राष्ट्रियता भनेका छुट्याउन सकिने वस्तु होइनन् । राष्ट्रनिर्माताप्रति श्रद्धा र राष्ट्रियताप्रति समर्पण भाव नभएको राष्ट्रवाद वास्तविक राष्ट्रवाद होइन ।
धर्म संस्कृति, भाषा, जात्रापर्व, जन्म मृत्यु संस्कार, प्रतीक, गान, सङ्गीत, उत्सव धर्मसंस्कृतिसँग जोडिएका हुन्छन् । बहुभाषा बहुजाति र बहुसंस्कृति नेपालको ऐतिहासिक विरासत हो । स्वधर्म संस्कृतिको निशानी मेट्नु भनेको पहिचान सिध्याउने खेल हो ।
वर्तमान संसारमा अस्तित्वमा रहेका करिब २०५ देशमध्ये कुनै त्यस्तो देश छैन, जसले सांस्कृतिक आधार नबोकेको होस् । सांस्कृतिक आधार समाप्त भयो भने त्यो देशको पहिचान, परिचय र राष्ट्रियता सङ्कटमा पर्छ ।
२०० वर्षको धर्मको युरोपियन परिभाषाले सम्प्रदायलाई नै रिलिजन भनेको छ । रिलिजन भनेकै धर्म हो भनेर मानिसका मस्तिष्कमा तरङ्गित हुने प्राकृतिक धर्मलाई बेवास्ता गरिएको छ । इश्वीको चौथो शताब्दीदेखि चौधौँ शताब्दीको युरोप अन्धकार युग मानिन्छ । किनभने यस अवधिमा क्रिश्चियन धर्मले युरोपमा जाति र वंश विनाश गर्यो ।
हाम्रो जस्तो ५,००० वर्षको धार्मिक परिभाषामा हिन्दु, मुस्लिम, इसाई, बौद्ध, जैन आदि धर्म होइनन् । पन्थ वा सम्प्रदाय हुन् । त्यसैले सम्प्रदाय निरपेक्ष भनेको धर्मनिरपेक्ष होइन ।
जसरी फन्डामेन्टल इलिमेन्ट्स अफ इकोनोमिक्स वा फन्डामेन्टल इलिमेन्ट्स अफ फिजिक्स वा केमिस्ट्री भनेजस्तै फन्डामेन्टल इलिमेन्ट्स अफ धर्म भनेर ती ती फन्डामेन्टल इलिमेन्ट्स वा आधारभूत तत्व के के हुन् भनेर बुझ्नुपर्छ ।
वैदिक सनातनी परम्परामा धर्मका चारवटा आधारभूत तत्व वा फन्डामेन्टल इलिमेन्ट्स हुन्छन् । धर्मका स्वभाव, कर्तव्य, पन्थ वा सम्प्रदाय र साधना पद्धति गरेर धर्मका ४ वटा फन्डामेन्टल इलिमेन्ट्स हुन्छन् ।
वैशेषिक दर्शनको सुरुमै धर्मको परिभाषा दिइएको छ । यतोऽभ्युदयनिःश्रेयससिद्धिः स धर्मः अर्थात् कुनै प्राणी वा वस्तुको उदय, वृद्धि र समाप्ति वा सिद्धिको ज्ञाननै धर्म हो । निधारमा खरानी धस्नु, रुद्राक्षको माला लाउनु, पहेँलो लुगा लाउनु जस्ता कार्य आत्मशुद्धीकरणका लागि गरिने हुन् । यस्ता कार्यलाई धार्मिक कार्य भन्न मिल्ला तर यी धर्म होइनन् । वेद र उपनिषद्मा जातिको कुरा छैन तर आत्मा गुण र कर्मको कुरा छ । दुनियाका अरू धर्मले ईश्वर दियो वेदले आत्मा दियो ।
राष्ट्रहरू धर्म, संस्कृति र भाषाका आधारमा गठन भएका हुन्छन् । धर्मले संस्कृति निर्माण गर्छ । संस्कृतिले समाज निर्माण गर्छ । समाजले सभ्यता निर्माण गर्छ । सभ्यतासहितको समाज राष्ट्र हो ।
आज हामी जुन भूमिमा जन्मे हुर्केका छौँ, त्यो पिता पुर्खाले आर्जन गरेको सभ्यताले निर्माण भएको हो । नेपाल संसारमा एक्लो देश हो जहाँ ५,००० वर्षदेखि सनातन धर्म संस्कृतिले निरन्तरता पाएको छ ।
यस देशको सभ्यता र संस्कृति वैदिक सनातन धर्म र संस्कृतिको देन हो । वैदिक सनातन धर्म बौद्ध, जैन, किँरात, बोन वा अन्य जे सुकै शब्द प्रयोग गरेता पनि वैदिक सनातन सापेक्ष शब्दले यस्ता अन्य सनातनी मौलिक दर्शन समेतलाई प्रतिनिधित्व गर्ने हुँदा नेपाललाई वैदिक सनातन धर्म सापेक्ष राज्य घोषणा गर्दा कसैलाई अन्याय हुँदैन ।
आज पश्चिमी राष्ट्रहरु स्वअध्ययन गरी वैदिक सनातन धर्मको महिमा बुझेर हरे राम हरे कृष्ण भन्दैछन् । सात्विक जीवन जिउन सुरु गरेका छन् । हिजो बाइबल अनुसार आफूबाहेक अन्यलाई शैतान मान्ने पश्चिमाहरु योग ध्यान गर्न थालेका छन् । अहिंसा, सत्य र दयाको प्रचार गर्दैछन् । ईसाई मिसनरीहरुझैँ हामीले गोराहरुको घर घरमा गएर कहिले पनि गीता पढ्नुस्, नीतिशास्त्र पढनुस् भनेर भनेनौं । उनीहरु आफैले खोजेर बुझेर वैदिक सनातन धर्म आचरण अवलम्बन गर्दैछन् । धर्मको मर्म बुझ्दैछन् । तर हामीले भुल्दै छौं । हाम्रो राज्यसत्ताले भुल्दै छ । भुलाउँदै छ ।
राष्ट्रनिर्माताप्रति श्रद्धा र राष्ट्रियताप्रति समर्पण भाव नभएको राष्ट्रवाद वास्तविक राष्ट्रवाद होइन । धर्म संस्कृति, भाषा, जात्रापर्व, जन्म मृत्यु संस्कार, प्रतीक, गान, सङ्गीत, उत्सव धर्मसंस्कृतिसँग जोडिएका हुन्छन् । बहुभाषा बहुजाति र बहुसंस्कृति नेपालको ऐतिहासिक विरासत हो । स्वधर्म संस्कृतिको निशानी मेट्नु भनेको पहिचान सिध्याउने खेल हो ।
२०६२/६३ को आन्दोलनमा कसैले धर्मनिरपेक्षको माग गरेका थिएनन् । आन्दोलनको क्रममा नेतृत्व गर्ने नेताहरु कसैले पनि विषय नै नकोट्याएको धर्मनिरपेक्ष शब्द कसरी अन्तरिम संविधानमा समावेश भयो भन्नेमा अधिकांश नेताहरु स्वयम् अनभिज्ञ थिए र छन् ।
मिति २०६२ मंसिर ७ गतेदेखि २०६९ वैशाख ६ गते जम्मा २,३१९ दिनमा ७ राजनीतिक दल, पक्ष विपक्ष, सरकारी र प्रतिपक्षी, राजा रैती, विद्रोही, भूमिगत, खुल्ला, शान्तिकामी, हतियारधारी सबै किसिमका राजनीतिक दलले नेपाललाई समृद्ध बनाउने गरी ३१,००० शब्द खर्च गरिएका सरकारी सहमति, समझदारी, संझौताको कर्पस वा पाठसङ्ग्रह केलाउँदा २ वटा शब्द भेटिएन । नभेटिएका शब्द हुन् धर्मनिरपेक्ष र सङ्घीयता । तर दातृ राष्ट्रहरुको नियमित तालिम, बैठक र सल्लाहमा तिनै अनभिज्ञ नेताहरु धर्मनिरपेक्षको वकालत गर्न लागे ।
धर्मनिरपेक्षको वकालत गर्नेहरूले सेकुलर, धर्मनिरपेक्ष र पन्थनिरपेक्ष शब्दको अर्थ बुझ्ने प्रयास गरे राम्रो । सेकुलर भनेको धर्म र राज्य फरक शक्ति हुन् । किनभने नागरिकको धर्म क्रिश्चियन भएकाले । पन्थनिरपेक्ष भनेको राज्यले कुनै पन्थ वा सम्प्रदायको अपेक्षा गर्दैन । किनभने नागरिक बहुपन्थ वा बहुसम्प्रदायका भएकाले । धर्मनिरपेक्ष भनेको राज्यले धर्मको कुनै अपेक्षा गर्दैन । किनभने नागरिकको धर्म नै नभएकाले ।
सेकुलर भनेको संसदको क्षेत्राधिकार र चर्च (धर्म) को क्षेत्राधिकार छुट्याइएको हो । धर्मको अपेक्षा नगरिएको भन्ने होइन । चर्चले धर्मगुरुलाई सांसद बनाएर संसदमा पठाउने अधिकार काट्नका लागि जर्ज ज्याकोब होलिओकको सिद्धान्तलाई आधार मानेर सन् १८५१ पछि फ्रान्समा यो नियम ल्याइएको थियो । तर बेलायतले आज पनि २६ जना धर्मगुरुलाई संसदमा नियुक्ति गरेर सांसद बनाउँछ ।
युरोप र अमेरिका एकल धर्मका आधारमा निर्माण भएका देश हुन् । ती देशहरू क्रिशचियन सेकुलर हुन् । जर्ज ज्याकोब होलिओकले बेलायतमा संसद्माथि चर्चको हैकम कम गर्न सन् १८५१ मा पहिलो पटक सेकुलरको अवधारणा ल्याएका हुन् । होलिओक भन्छन् – सेकुलर, ईश्वरवाद, विज्ञानवाद अन्य विषयबाट स्वतन्त्र छ । मानिसको शारीरिक, नैतिक र बौद्धिक प्रकृतिको विकासलाई उच्चतम महत्व दिने कानुन बनाएर चर्चको हस्तक्षेपबिना राज्य सञ्चालन गर्न मिल्छ र सकिन्छ ।
चर्चले सांसद नियुक्त गर्ने देशमा सेकुलर वा पन्थनिरपेक्ष चाहिएला । हामीकहाँ मन्दिरले यतिजना पुजारीलाई सांसद नियुक्त गरिएको छ भनेर कहिल्यै भनेन । अनि किन नेपाललाई सेकुलर राज्य नभनेर धर्मनिरपेक्ष भनियो । अङरेजीका हजारौँ शब्द नेपालीमा जस्ताको तस्तै प्रयोग गर्न हुन्छ भने सेकुलरलाई किन धर्मनिरपेक्ष भनेर गलत अनुवाद गर्ने ।
त्यसैगरी परराष्ट्र नीतिलाई पुनः परिभाषित गर्नु आवश्यक छ । परराष्ट्र नीति भनेको संवेदनशील, जिम्मेवार, विवेकयुक्त र जटिल विषयहरूको सम्मिश्रण हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेको छिमेकीसँग संयम, विवेक र संवेदनशीलताका साथ अघि बढ्नु भनेको हो । नेपालको परराष्ट्र नीतिको सञ्चालन पञ्चशीलको सिद्धान्तका असंलग्नता, राष्ट्रिय हित, सुरक्षा, सम्मान र सद्भावलाई केन्द्रमा राखी सबै राष्ट्रसँग मित्रता राख्ने, कसैप्रति वैरभाव नराख्ने नीति हो ।
नेपालको परराष्ट्र नीति पञ्चशीलमा आधारित छ । शील र पारमिता धर्मसंस्कृतिका अङ्ग हुन् । मानवीय गुणको आधार नै शील हो । शीलले व्यक्तिलाई आध्यात्मिक बनाउँछ । बौद्ध दर्शनका पञ्चशीलका पारमिता अन्तराष्ट्रिय सम्बन्धका आधार हुन् ।
क. एक राष्ट्रले अर्को राष्ट्रको सार्वभौमसत्तालाई सम्मान गर्ने ।
ख. एक राष्ट्रले अर्को राष्ट्रमा आक्रमण वा अतिक्रमण नगर्ने ।
ग. एक राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामिलामा दखल नदिने ।
घ. आपसी हितका लागि एक राष्ट्रले अर्को राष्ट्रसँग सहयोग गर्ने ।
ङ. शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने ।
पञ्चशीलका यी सिद्धान्तले मानिसलाई सहृदयी बनाउँछ । सहृदय पालना गर्ने सम्बन्धले परराष्ट्र सम्बन्धको व्यवहारमा गतिरोध ल्याउँदैन ।
नेपाल सही विषयबाट विस्थापित भएकै कारण परम्परागत ज्ञान र प्रकृतिसँग हातेमालो गरी आर्जन गरेको लोकविश्वास नागरिकबाट खोसियो । अंग्रेजी भाषालाई ज्ञानको उत्कृष्ट स्रोत मान्ने चलन भएकाले अङ्रेजीबाहेक अन्य भाषामा लेखिएका अवधारणाले विचार र ज्ञान आदान प्रदान गर्न सक्दैन भन्ने धारणाको विकास भयो । यस्तो धारणाले समस्त युवा पिँढीमा आफ्नो भूगोल र संस्कृतिलाई नर्क र युरोप अमेरिकालाई स्वर्ग देख्ने आँखाको विकास भयो ।
धार्मिक सम्पदा, संस्कृति, वेशभूषा, खानपान, पूजा आराधना, जन्म मृत्यु संस्कार, भाषा लिपि, पुर्ख्यौली विरासत, परम्परागत ज्ञान राष्ट्रिय सांस्कृतिक धरोहर हुन् । यी कुरा धर्म संस्कृतिसँग जोडिएका हुन्छन् । क्रिश्चियन धर्मले संसारमा फैलाएको नरसंहारलाई लुकाउन आज क्रिश्चियन देशहरू धर्मका सट्टा भौतिक संस्कृति र अभौतिक संस्कृतिका नाममा युनेस्को जस्ता संस्थामार्फत विश्वबजारमा हात फैलाउँदैछन् ।
संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक अधिकार घोषणापत्र सन् १९६६ नेपालमा लागु भएको सन् १९७६ अर्थात् वि.सं. २०३२ देखि नै धर्म र संस्कृतिलाई छुट्याएर विष घोल्ने काम भएको छ ।
त्यसैगरी मधेशको कुरा उठ्ने बित्तिकै भारतसँग जोडेर फरक धारका कुरा उठ्ने गर्छन् । तर वास्तविकता त्यस्तो होइन । उत्तर वैदिक कालमा नेपालको सिमाना हिमालयदेखि गङ्गा उत्तरसम्म लिएको थियो । इतिहासको विभिन्न कालखण्डमा देशको सिमाना फेरबलदल भइरहन्छ । नेपालले पनि यो तथ्य ब्यहोर्नु परेको छ । उत्तर वैदिककालका कोशल, मल्ल र विज्झी जनपद नेपालको पश्चिमदेखि पूर्वसम्मका भूभाग आज पनि विद्यमान छन् ।
कोशल, मल्ल र विज्झी जनपद वा आजको मधेशको भूगोलसँग नेपालको संस्कृति, सभ्यता, इतिहास, ज्ञान र चिन्तन जोडिएको छ । मधेशसँग शौर्य, नीति, धर्म, विवेक, मर्यादा, कला, संस्कृति, स्थापत्य आदिको सम्बन्ध निरन्तर जोडिएर आउँछ ।
नेपालीत्व निर्माणमा मधेशको अतुलनीय योगदान छ । आजको मधेशका कोच, मोरङ, मिथिला, सिम्रौनगढ, कपिलवस्तु, दाङ, अवध आदि क्षेत्रको माटोसँगको नातालाई यस अर्थमा लिनुपर्छ, जसबाट नेपालीपनको संवर्द्धनमा टेवा पुगोस् ।
मिथिलाका याज्ञवल्क्यको विधि व्याख्या र गार्गीका दार्शनिक विचारले मधेशको भूगोललाई महिमामय बनाएको छ । मधेशका सीता, सिद्धार्थ गौतम र सलहेशको इतिहासका कथा नेपालीत्वका आधार भूमि हुन् । सीता र बुद्धलाई राष्ट्रिय विभूति नै मानिएको छ ।
मधेशको इतिहास र नेपालको इतिहास भनेको एउटै कुरा हो । नेपालको मानचित्रमा मधेशको भौगोलिक अवस्थितिसँग जोडिएका विम्ब र प्रतीकहरूले नेपालको इतिहास, परम्परा र गौरवलाई पनि अमूल्य धरोहरको रूपमा अँगालेको छ ।
आजभोलि एउटा विवादास्पद चर्चा नेपाली जनमानसमा उदाएको छ । धर्मनिरपेक्ष कि धर्मसापेक्ष भनेर जनमत सङ्ग्रह गर्ने । यो अति विषाक्त विचार हो ।
धर्म संस्कृति पूर्खाको देन हो । यसमा जनमत सङ्ग्रह गर्ने कुरा हुँदैन । यी मेरा पिताजी हुन् वा यिनी मेरी माताजी हुन् भनेर जनमत सङ्ग्रह भएको इतिहास अहिलेसम्म कहीँ कतै पनि छैन ।
नेपालको राजनीतिको दाल कहाँ पाक्दैछ र मसला झानेपछि नेपालमा गन्ध कहिले आइपुग्छ । नेताको भोट फ्याक्ट्रीका उत्पादन हामी जनताको बुढी औँलामा मसी दलेपछिमात्र भोट फ्याक्ट्रीको उत्पादन काउन्ट सुरु हुन्छ । भोट फ्याक्टीमा म कति सिरियल नम्बरको उत्पादन हुँ मलाई नै थाहा छैन ।
विदेशीसँग ऋण लिएर कार्यान्वयन गर्नुपर्ने शासन, देशको आर्थिक क्षमताले व्यवस्थापन गर्न नसक्ने सङ्घीयता र नियोजित धर्मनिरपेक्षको ऐँठनले नेपालीत्वमाथि निर्मम प्रहार भएको छ ।
अब नेपालीत्व बिउँझाउने बेला आइसक्यो । नेपालीत्व बिउँझिएपछि नैतिकताको सपना बेचेर नेपालको राष्ट्रियताको जग भत्काउनेसँग हिसाबकिताब हुने नै छ ।
[ लेखक कम्प्युटर भाषाविज्ञानमा विद्यावारिधि हुनुहुन्छ। उहाँ भाषा, संस्कृति, सूचनाप्रविधि र राष्ट्रिय ज्ञानभण्डार (National Knowledge Bank) को आवश्यकताबारे लेखपढ गर्नमा रुचि राख्नुहुन्छ। ]
*नोट - नेपालीत्व के हो भन्नेबारे विभिन्न कोणबाट विश्लेषणसहितका विचारमूलक लेखका लागि नेपालीत्व मिडिया आह्वान गर्दछ। विज्ञजनबाट आउने स्तरीय विचारलाई नेपालीत्व बहस शृङ्खला अन्तर्गत स्थान दिने जानकारी गराउँछौं - सं.।