नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा समाजवादीले २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका 'आफ्नो गाउँ आफैं बनाऔं' कार्यक्रमलाई समावेस गरेको छ । घोषणापत्र अनुसार प्रत्येक घर परिवारलाई मासिक दुई सय युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्नेसम्मका कार्यक्रम छन् ।
नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको समाजवादी पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको छ । यसअघि एमालेबाटै निर्वाचन लडेको समाजवादी यस पटक भने सत्तारूढ पाँच दलीय गठबन्धनबाट अघि बढिरहेको छ ।
मासिक पाँच हजार लिटर पानी र वार्षिक २०० युनिट विद्युत निशुल्क
नेकपा एस (एकीकृत समाजवादी)को चुनावी घोषणापत्रमा मतदालताई नि:शुल्क खानेपानी र दुई सय युनिट विद्युत निुशल्क उपलब्ध गराउने प्रतिवद्धता जनाइएको छ ।
‘हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खाने पानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने छ,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ, ‘खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा अनिवार्य रूपमा पुर्याइने छ ।’
नेकपा एसले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गते हुन गइरहेको स्थानी तहको चुनावलाई लक्षित गरी आफ्नो घोषणापत्र सार्वजनिक गरेको थियो ।
घोपाणापत्रमा हरेक घरपरिवारमा स्वच्छ खानेपानी पुर्याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने जनाइएको छ । सोहीअनुसार बजेटको प्राथमिकता निर्धारण गरिने समेत घोषणापत्रमा उल्लेख छ ।
‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता नेकपा एसले गरेको छ ।
‘स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइने छ । यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।
पालिकामा युवा विभाग, हरेक वार्डमा खेल मैदान
नेकपा एस (एकीकृत समाजवादी) पार्टीले हरेक पालिकामा युवा विभाग र हरेक वार्डमा खेल मैदान निर्माण गर्ने कुरा घोषणापत्रमा जनाएको छ ।
‘युवाहरू नै वास्तविक श्रमशक्तिका स्रोत हुन् । यस तथ्यलाई बुझेर हाम्रो नेतृत्व रहेका पालिकाहरूले युवा विभाग गठन गर्ने छन् । पालिकास्तरमा रहेको युवा विभागले आफ्नो भूगोलभित्र रहेका १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको तथ्याङ्क लिने, ती युवाहरूमध्ये बेरोजगारहरूलाई रोजगारी उपलब्ध गराउनका लागि स्वरोजगारका विविध योजना बनाई लागु गर्ने छन्,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।
युवा जनशक्तिलाई देशभित्रै टिकाउन र उत्पादन बृद्धिमा जोड्न तथा उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि विभिन्न योजना पनि घोषणापत्रमा समेटिएको छ ।
‘हाम्रा युवा हामीसँगै’ भन्ने आव्हानका साथ ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने र आफ्नै गाउँ सहरमा रोजगारीका अवसरहरू सृजना गर्ने कुरालाई उच्च प्राथमिकतामा राखिने घोषणापत्रमा उल्लेख छ । युवा जनशक्तिलाई उत्साहकासाथ देशविकासमा लगाइने नेकपा एसले जनाएको छ ।
घोषणापत्रमा प्रत्येक पालिकामा सिपमूलक तालिम केन्द्र स्थापना गरिने प्रतिवद्धता समेत गरिएको छ ।
हरेक वार्डमा सबै आयुवर्गका मानिसलाई खेलकुद र व्यायामतर्फ आकर्षित गर्नका लागि आवश्यक भौतिक संरचना निर्माण गरिने पनि घोषणापत्रमा समेटिएको छ ।
‘बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गरिने छ । हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र र हरेक पालिकामा फुटबल, क्रिकेट लगायतका खेल खेल्न सकिने ठुला खेल मैदान निर्माण गरी बालबालिका तथा युवाहरूको स्वास्थ्य सुगठनमा विशेष ध्यान दिइने छ,’ घोषणापत्रमा उल्लेख छ
हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना
नेकपा एस (एकीकृत समाजवादी) पार्टीले घोषणपत्रमा बालबालिकाका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ ।
‘हरेक टोलमा बालउद्यान निर्माण गरिने छ । यस्ता उद्यानमा बालबालिका खेल्ने, रमाउने साधनहरूको व्यवस्था गरिने छ,’ घोषणापत्रमा नेकपा एसले भनेको छ, ‘बालबालिका समाजको उत्तरदायित्व भन्ने मर्मलाई हृदयंगम गर्दै हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गरिनेछ ।’
काममा जाने श्रमजीवि अभिभावकलाई बालबालिका रेखदेख गर्ने सामाजिक केन्द्रका रुपमा स्थानीय सरकारले बाल स्याहार केन्द्र संचालन गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।
बालबालिकाहरूलाई सानै उमेरदेखि साहित्य र कलाप्रति आकर्षित गर्नका लागि हरेक वार्डस्तरमा स्थानीय विद्यालयहरूलाई अग्रसर गराई वार्षिकरूपमा बालसाहित्य तथा कला मेलाको आयोजना गर्ने प्रतिवद्धता पनि नेकपा एसले गरेको छ ।
‘बालबालिकाहरू आफ्नो घर र समाजमा सुरक्षित रहुन् भन्ने उद्देश्यले आवश्यक अनुगमनको व्यवस्था गरिने छ । यसका लागि स्थानीय प्रहरी कार्यालयसँग आवश्यक समन्वय गरिने छ,’ घोषणापत्रमा लेखिएको छ ।