पोखरा महानगरपालिकाको प्रमुख (मेयर) पदमा एकीकृत समाजवादीले दाबी नछोडेपछि कास्की कांग्रेसले नेकपा एससँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । कांग्रेसका दुई जना जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका छन् ।
केन्द्रीय गठबन्धनबाटै गठबन्धन गर्न नसके मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन पठाएको भन्दै उनीहरूले कास्कीमा नेकपा एससँग गठबन्धन नगर्ने बताएका हुन् ।
‘गठवन्धनमा रहेका दलहरूसँग पटक पटकको लामो छलफल र बहसका साथै सँगै तालमेल गरेर जाने सन्दर्भमा भरपुर प्रयत्न गरियो । जिल्ला संयन्त्रबाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि एसको अस्वाभाविक दाबीका कारणले निष्कर्ष निस्कन सकेन,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टी मातहातका निकायहरूको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो ।’
सचिव भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले संयुक्त विज्ञप्ति जारी गरेर पोखरा महानगरपालिकाको प्रमुख (मेयर) का सम्बन्धमा सञ्चार माध्यममा आएको हल्लाका पछाडि नलाग्न पार्टीपङ्क्तिलाई आह्वान गरेका छन् ।
यसैबीच नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने गठबन्धन टुटेको भन्ने कुरा सत्य नभएको र आफू अहिले पनि गठबन्धनको बैठकमा नै बसिरहेको र छलफल भइरहेको बताएका छन् । ‘म बैठकमै छु । गठबन्धन टुटेको कुरा साँचो होइन,’ उनले भने, ‘सचिवहरूले किन त्यसो गर्नुभयो मैले बुझ्न पाएको छैन । विज्ञप्ति निकाल्न मसँग सल्लाह लिनुभएको होइन ।’
एकीकृत समाजवादीले पोखराको मेयरमा दाबी गरेको छ । तर कांग्रेसले भने जनमत नै नभएको पार्टीले मेयर माग्दा हारिने भन्दै कांग्रेसले नै मेयर पाउनुपर्ने अडान राखेको छ ।