नेपाली कांग्रेसबाट पोखरा महानगरको मेयर पदमा उम्मेदवार बन्नका लागि १८ जनाले आकाङ्क्षा देखाएका छन् । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापालगायत १८ जनाले दावी प्रस्तुत गरेको कांग्रेस महानगर कमिटीले जनाएको छ ।
मेयरको उम्मेदवार बन्नका लागि कांग्रेसभित्र दावी प्रस्तुत गर्नेहरूमा प्रदेशमन्त्री थापाका अतिरिक्त नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, विश्वशंकर पालिखे, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपीला रानाभाट, विश्व घिमिरे, ऋषि सापकोटा, किरण केसी र यसअघि उपमेयरमा पराजित भएकी सरस्वती गुरुङ छन् ।
उपमेयरमा १० जनाको मनोनयन परेको छ । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दीपक महत, चिनु गुरुङ, गोविन्द नेपाली, शिव केसी, र मिलन थापाको नाम दर्ता भएको पार्टी सचिव गणेशबहादुर थापाले जानकारी दिए ।
कांग्रेस पोखराले मेयरका लागि २५ हजार र उपमेयरका लागि २० हजार रुपैयाँ स्वेच्छिक शुल्क लिएको थियो । मेयर, उपमेयर पदको उम्मेदवारीका लागि आन्तरिक दावी प्रस्तुत गर्नका लागि पोखरा महानगर कांग्रेस कमिटीले आज दिउँसो ४ बजेसम्मको समय तोकेको थियो ।