यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तनहुँमा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको समूहले नेकपा एमालेसँग तालमेल गर्ने भएको छ ।
एमाले र जोशी समूहबीच भएको प्रारम्भिक छलफलमा तालमेल गरेर जाने सहमति भएको हो । तालमेललाई प्रभावकारी बनाउन चुनाव परिचालन समिति गठन भएको छ । समितिमा दुवै पक्षबाट चार-चार जना सदस्य छन् ।
शक्ति सन्तुलन गरेर स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए । ‘प्रारम्भिक छलफलमा सहकार्य गरेर जाने सहमति भएको छ । सहकार्यका लागि दुवै पक्ष सकरात्मक छौँ,' उनले भने ।
कुन पालिकामा कसले भाग पाउने भनेर भने सहमति भइसकेकाे छैन । पार्टीको प्रभाव, शक्ति सन्तुलन र हैसियतको आधारमा भागबण्डा हुने उनको भनाइ छ । ‘स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा भागबण्डा हुनेछ,' उनले भने ।
नेपाली कांग्रेसले सम्मानजनक व्यवहार नगरेका कारण एमालेसँग सहकार्य गरेर अगाडि बढ्न बाध्य भएको गोविन्दराज जोशीका पुत्र दीपकराज जोशीले बताए । ‘कांग्रेसले माओवादीसँग तालमेल गर्न हुने जोशी समूहसँग तालमेल गर्न नहुने भन्ने के छ र ? बुवालाई नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरेर पार्टीबाट निकाल्दाखेरी हामी चुप लागेर बस्ने कुरो त हुँदैन । पेल्नेको पनि सीमा हुन्छ नि कहाँसम्म पेल्ने भनेर,' उनले भने ।
दिपकराज जोशीले व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेर प्रचारप्रसारमा लागिरहेका छन् । उनले नेपाली कांग्रेसमा पनि मेयरको आकांक्षीमा नाम टिपाएका थिए । तर पार्टीले हस्ताक्षर गर्न लगाएको प्रतिबद्धता पत्रमा उनले हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनको नाम सिफारिस भएको छैन । जोशीले दिएको जानकारी अनुसार हालसम्म व्यासमा जोशी समूहले मेयर लिने र भानुमा एमालेले मेयर लिने सहमति भएको छ । जोशी समूहको पकड व्यास र भानुमा बढी रहेको बताइन्छ ।
गोविन्दराज जोशीलाई १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा जोशीलाई कारबाही गरिएको हो । जोशीले हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई सघाएको आरोप छ ।