बैशाख ३० मा हुने निर्वाचनबाट पोखरा महानगरपालिकाको नगरप्रमुख बन्ने आकांक्षाले समाजशास्त्रका प्राध्यापक डा. विश्वकल्याण पराजुलीले राजीनामा गरेका छन् । उनले हालै पृथ्वीनारायण क्याम्पसबाट बिदाइ समेत लिइसकेका छन् ।
नेकपा एमालेभित्र पोखराको मेयर बन्न तँछाडमछाड भैरहेका बेला अप्रत्यक्ष राजनीतिमा रहेका पराजुलीले प्रत्यक्ष राजनीति गरिरहेकाहरुको प्रतिस्पर्धामा उत्रिएका हुन् । एमालेले पार्टीभित्रको निर्वाचनमार्फत् उम्मेदवारको टुंगो लगाउँदै छ । त्यसमा हिजोसम्म १२ जना आकांक्षी रहेकामा खुला मतदान हुने भएपछि अरु पनि प्रतिस्पर्धामा छन् ।
हालका महानगर प्रमुख मानबहादुर जिसी गम्भीर स्वास्थ्य समस्याका कारण प्रतिस्पर्धामा छैनन् । तर पूर्व मेयर कृष्ण थापा समेत एमालेका विभिन्न ओहोदामा रहेकाहरु तीव्र आकांक्षामा छन् । एमालेका गूटहरु समेत सक्रिय छन् आफ्नो गूटको व्यक्तिलाई मेयरको टिकट दिन । त्यसमा खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङले गूटहरुको नेतृत्व गरिरहेको बताइन्छ ।
विद्यार्थी जीवनमै एमाले अखिलको राजनीति गरेका डा. विश्वकल्याण पराजुली प्राध्यापनलाई पेशा बनाएपनि एमाले सम्बद्ध बुद्धिजीवी परिषदमा सक्रिय थिए । राजनीतिलाई फोहोरी छ भन्ने तर सफा गर्न नतम्सने गर्दा असन्तुष्टिहरु गालीगलौजमा मात्रै सीमित भएको भन्दै उनले प्राज्ञिक र बौद्धिक क्षेत्रका व्यक्ति पनि राजनीतिमा लाग्नु पर्ने उनको भनाइ छ । घिनलाग्दो राजनीति भन्ने हो सफा गर्न निस्किनै पर्छ । त्यसकै लागि मैले राजीनामा दिएर एमालेको खुला राजनीतिमा आएको हुँ, उनले भने ।
उनी २०७४ मा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगको सदस्य भएर समाजशास्त्रीको रुपमा काम गरेका थिए । एमाले र माओवादीका हालका केन्द्रीय नेताका सहपाठी रहेका उनी राजनीतिक वृत्तबाट नटाढिएको र आफ्नै ठाउँबाट योगदान गरिरहेको दावी गर्छन् ।
उनले एक हजारभन्दा बढी विद्यार्थीको शोधपत्रको निर्देशन गरेका छन् । बनारस हिन्दू विश्वविद्यालयबाट पीएचडी गरेका उनले पीएचडीको पनि शोध निर्देशन गरिसकेका छन् । पोखराको रैथाने भएको कारण पनि उनले मेयरको टिकट पाउनु पर्ने र जित्ने दावी उनको छ ।
हजारौं विद्यार्थीलाई बाटो देखाइसकेको प्राध्यापक भएकोले आफूले महानगर प्रमुखको रुपमा योगदान गरेर राजनीतिमा उदाहरणीय काम गर्ने उनको जिकीर छ । त्यसै आकंक्षाले उनले उमाले अध्यक्ष ओलीसँग पनि भेटघाट गरिसकेका छन् । तर कुनै पनि गूटमा नलागेकाले पनि एमालेभित्रबाट आफ्नो पक्षमा सहयोग मिल्ने विश्वास उनले लिएका छन् ।