मिथिलाञ्चल क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशीतल पर्व मनाइँदै छ ।
नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशीतल’ मनाउन लागिएकाे हाे । यो पर्वमा ज्येष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने प्रचलन छ ।
‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्वत खाने र खुवाउने परम्परा छ । आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ ।
घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिने गर्दछन् ।
नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ ।
गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरकारी, चनाको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा छ । यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन् ।
दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जनविश्वास रहेको छ । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।
जुडशीतलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्न निस्कन्छन् । यसरी यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास रहेको छ ।