निर्वाचन आयोगले २२ चैतमा राजनीतिक दलहरूलाई निर्वाचन लैङ्गिक समावेशी बनाउने सन्दर्भमा दिएको निर्देशनमा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेद्वारी दिन राजनीतिक दलले उम्मेद्वार मनोनयनमा महिलालाई प्राथमिकता दिने व्यवस्था गरेको थियो।
आयोगको निर्णयप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आपत्ति जनाएको छ । आयोगले स्थानीय तहको प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेद्वारी दर्ता गराउँदा महिलालाई नै उम्मेद्वार बनाउनुपर्ने बाध्यकारी व्यवस्था संशोधन गरेको थियो । उक्त निर्णयप्रति अनेरास्ववियुले आपत्ति जनाएको हो ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै उक्त सूचनाप्रति गम्भीर आपत्ति जनाएकी थिइन् ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को १७ (४) मा व्यवस्था गरेबमोजिम मनोनयन पत्र पेस गर्दा दलले अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उमेद्वार रहने गरि मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्नेछ भनी उल्लेख थियो ।
तर, आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उमेद्वारी दिने राजनीतिक दलले महिलाको मनोनयनलाई प्राथमिकता दिने भनी सूचना जारी गरेकोप्रति अनेरास्ववियुले गम्भीर आपत्ति र असहमति जनाएको हो ।