सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर महानिरीक्षक खनालले सोमबारबाट अवकाश पाएका हुन् । उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ ।
खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए । उनले अवकाश पाए पनि सरकारले नयाँ महानिरीक्षकको टुङ्गो लगाउन सकेको छैन ।
सशस्त्र प्रहरीमा हाल एआईजी रहेका पुष्पराज केसी र रामशरण पौडल दुवैको अवधि निकै कम मात्रै छ । दुवै जनाले आउँदो वैशाख १९ गते अवकाश पाउँदै छन् । दुवैजना अवकाशप्राप्त महानिरीक्षक खनालकै ब्याचमेट हुन् । महानिरीक्षक बन्ने पालो उनीहरूकै हो । तर उनीहरूमध्येबाट महानिरीक्षक बनाइएमा निकै छोटो समयका लागि मात्र हुने छ र तुरुन्तै नयाँ प्रक्रियामा पनि जानु पर्ने हुन्छ ।
नयाँ नेतृत्वका लागि बढुवा सिफारिस समितिले सिफारिस गर्नुपर्छ । सोही सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले नयाँ नेतृत्व चयन गर्ने हो । तर अहिलेसम्म बढुवा सिफारिस समितिको बैठक पनि बसेको छैन । लोकसेवा आयोगका अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव र गृहसचिव नेतृत्वमा रहने बढुवा सिफारिस समितिले महानिरीक्षक सिफारिस गर्छ ।
बैशाख १९ पछि नेतृत्व लिनका लागि भने हालका डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम दौडमा छन् । अर्याल र पौडेल २०५४ चैतमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । गौतम भने २०५२ वैशाखमा नेपाली सेनाको सहायक सेनानीबाट आएका हुन् । सशस्त्र प्रहरीको स्थापनासँगै उनीहरू २०५८ मा एकैपटक सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।
हाल अर्याल पहिलो, पौडेल दोस्रो र गौतम तेस्रो वरीयतामा छन् । वरीयतामा चौथो नम्बरमा रहेका डिआइजी वंशीराज दाहाल पनि एआईजीको दौडमा छन् । सशस्त्र प्रहरी बलमा दुईजना मात्रै एआईजी रहने व्यवस्था छ ।
अहिलेका डीआईजीमध्ये दुईजनालाई एआईजीमा नियुक्त गर्ने र उनीहरूमध्येबाट एकजनालाई आईजीपीमा नियुक्त गर्नुपर्ने हुन्छ । त्यसका लागि अहिलेदेखि नै प्रक्रिया थाल्नुपर्ने हुन्छ । तर बढुवा सिफारिस समितिले त्यस्तो गर्न सकिरहेको छैन ।