सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने प्रण गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा साेमबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले देशभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर एक अर्कालाई सहयोग गर्दै अघि बढ्न पाँचै दलका नेता-कार्यकर्ताहरूलाई अपिल गरेको छ ।
गठबन्धनका शीर्ष नेताहरूले संयुक्त अपिल जारी गर्दै भनेका छन्, ‘देशभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आह्वान गर्दर्छौँ ।’
उनीहरूले व्यापक सहभागितमा आगामी स्थानीय तहको निर्वाचन सफल पार्न तथा गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी बनाउनसमेत अनुरोध गरेका छन् ।
अपिलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
पाँचदलीय सत्ता गठबन्धनमा रहेका दलहरूबीच चुनावी तालमेल गर्ने र एक अर्कालाई सघाउने सहमति भए पनि चुनावी तालमेलको मोडलबारे भने आजको बैठक निश्कर्षमा पुग्न सकेन । चुनावी तालमेलको मोडालिटीबारे भोलि बैठक बसेर टुङ्गो लगाउने उनीहरूको तयारी छ ।
भोलि बस्ने बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 'आजको बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । अब चुनावी तालमेलको मोडालिटीबारे भोलि बस्ने बैठकमा निर्णय हुन्छ,' उनले भने ।