३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन् ।आउँदो ११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ । जस कारण राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउनेसम्मको काममा व्यस्त छन् ।
राजनीतिक दल र तिनका नेतालाई मात्र होइन आमनागरिकलाई पनि चुनावी माहोलले तताउँदै छ । आममानिस पनि कसलाई मत दिने र नदिने विचार बनाउँदै छन् । सप्तरीको राजविराज नगरपालिकाका स्थानीय भने जसले पैसा दिन्छ, उसैलाई भोट दिने बताउँछन् ।
‘गत निर्वाचनमा पनि पैसा लिएर भोट दिएको हो । यस वर्ष पनि जसले दुई हजारका दरले पैसा दिन्छ, उसैलाई भोट दिने हो,’ राजविराज नगरपालिका– १ कि ५५ वर्षिया राधा देवी रामले भनिन् । २५ वर्ष अगाडि भएको निर्वाचनमा उम्मेदवार हेरेर भोट दिएको भए पनि अहिले पैसा दिनेलाई दिन थालिएको उनको भनाइ छ । उनले दुई हजारका दरले पैसा दिनेलाई यसपालिको चुनावमा आफ्नो बस्तीका मतदाताले भोट दिने बताइन् ।
‘२५ वर्ष अगाडिको चुनावमा पनि मैले मत खसालेको थिएँ । त्यतिबेला यस्तो माहोल थिएन । पहिले जनताले मान्छेलाई चिन्थे । अहिले सबैले पैसालाई चिन्न थालेका छन्,’ उनले भनिन् । भोट दिएबापत प्राप्त पैसा महिलाको हातमा पर्दैन । पैसा लिने विषयमा पुरुषले डिल गर्छन् । पुरुषकै निर्देशन अनुसार महिलले भोट दिन्छन् । मत दिन लिएको पैसा पुरुषले मादक पदार्थ खाएर सक्ने राधा बताउँछिन् ।
स्थानीय ४० वर्षीया सोमनी मरिक भन्छिन्, ‘हामीहरू बाँच्यौ भने न विकास हेर्ने हो । सधैँ आर्थिक संकट झेल्दै आउनु परेको हाम्रो समुदायको पहिलो प्राथमिकता नै पैसा हो । जसले पैसा दिन्छ, उतै हाम्रो समुदायले भोट दिन्छ,’। बाँँच्नका लागि पैसा आवश्यक रहेकाले पैसा दिनेलाई भोट दिनुपरेको, भोक टारेर बाँँच्न सकेमा पछि विकास हेर्न सकिने उनले बताइन् ।
चुनाव पैसामुखी भएको ७५ वर्षिया जितनी रामले बताइन् । ‘इमान्दारिता र काम गर्ने व्यक्तिलाई भन्दा पैसा दिनेलाई भोट दिने र नेताले पनि काम गरेर भन्दा पैसा बाँड्ने गरेकाले अहिलेका चुनावहरू पैसामुखी बनेको छ,’ उनले भनिन् ।
चुनाव जितेर काम नगर्ने नेतालाई भोट दिन नहुने स्थानीय ७० वर्षीया शिवनारायण रजक सुझाव दिन्छन् । ‘चुनावको बेला एक दुई हजारमा बिकेर फेरि काम नगर्ने नेतालाई जिताउने प्रवृत्ति स्थानीय स्तरमा बढेको छ,’ उनी भन्छन्, ‘यस्तालाई भन्दा काम गर्ने नेतालाई भोट दिनुपर्छ ।’
नागरिकले पनि कसलाई मत दिने र नदिने विचार गरी पैसाकाे लाेभमा नपरि आफ्नाे र सन्ततिकाे भविष्य, विकास र समृद्धिमा योगदान दिन सक्ने योग्य व्यक्तिलाई जिताएर नागरिकको कर्तव्य पुरा गर्नुपर्छ। आफ्नो पालिकाको विकास र समृद्धिमा योगदान दिन सक्ने योग्य व्यक्तिलाई मत दिनु नागरिकको कर्तव्य हो ।