भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्का) जात्रा आइतबार सुरु भएको छ । बिस्केट जात्राका लागि आवश्यक नित्यपूजा आइतबार बिहान ५ बजेबाट सुरु भएको हो । तर जात्राको मुख्य आकर्षण भने साँंझ मात्र हुनेछ । साँझ भैरवनाथको रथ तान्ने जात्रा मुख्य आकर्षण हो । गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरकी प्रमुख भीमा ओलीले साँझ तीन बजेबाट भैरवनाथको रथ तान्न सुरु गर्ने योजना रहेको बताइन् ।
नयाँं वर्ष सुरु हुनु चार दिन अगाडि प्रसिद्ध पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाएको भैरवनाथको रथ तान्ने गरिन्छ । यसलाई द्यो क्वह विज्याइगू अर्थात देवता तल सवारी हुने भनिन्छ । यस दिन भैरवनाथको रथलाई तानेर नगरको पश्चिमतिर अर्थात् गहिटी, वंशगोपाल क्षेत्रमा लाने गरिन्छ ।
रथलाई दुवैतिर मोटोमोटो डोरी राखेर सयौँ युवायुवतीहरूले तान्ने गर्दछन् । यो क्रममा जात्रा हेर्न आउनेहरु पनि हजारौँ हुन्छन् । रथलाई जता तानेर लगे पनि साँंझ पुनः पाँंचतल्ले मन्दिर अगाडि नै राखेर छोडेपछि पहिलो दिनको जात्रा समापन हुने परम्परा छ ।
आठ रात नौ दिन लामो जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो डोरीको सहायताले तानेर उठाइन्छ । वर्षको अन्तिम दिन उठाइने लिङ्गोलाई भोलिपल्ट अर्थात् वैशाख १ गते साँंझ ढाल्ने गरिन्छ ।
जात्राको अन्तिम दिन अर्थात् वैशाख ५ गते साँझ भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तै थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी तमारीस्थित भैरवनाथको प्राङ्गणमा पुर्याई जात्रा सम्पन्न गरिन्छ ।
जात्रालाई मर्यादित र समयमै शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणबद्धरूपमा सरोकारवालासँग छलफल गरेर रणनीति तयार गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने क्रममा र लिङ्गो उठाउने बेलामा झडप हुने गरेकोले यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने र रथमा पनि आवश्यक व्यक्तिहरू मात्रै चढ्न पाउने व्यवस्था गरिएको छ ।