काठमाडौँ महानगरपालिकाले मनोरञ्जनकर अन्तर्गत चलचित्र, दोहोरीसाँझ र क्यासिनो जानेलाई अलगअलग करको दर कायम गरेको छ । काठमाडौँ महानगरपालिका राजश्व विभागका अनुसार दोहोरीसाँझ जानेलाई २० रुपैयाँ र क्यासिनो छिर्नेलाई ५० रुपैयाँ व्यक्तिगत कर बुझाउन निर्देशन दिइएको छ ।
विभागका अनुसार भिडियो घर, कन्सर्ट, दोहोरीसाँझ, डान्सबार तथा नाइटक्लब प्रवेश गर्ने ग्राहकबाट प्रति व्यक्ति २० रुपैँया र क्यासिनो प्रवेश गर्ने ग्राहकबाट प्रति व्यक्ति ५० रुपैयाँ कर उठाउन निर्देशन दिइएको हो ।
यसैगरी चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरुबाट प्रति टिकट ५ प्रतिशत र सांस्कृतिक प्रदर्शन हल, नाटकघर, फनपार्क, वाटरगार्डेन, बालउद्यान, फुटसल, जुम्बा, मसाज एन्ड एस्पा, स्विमिङ पुल र पार्क प्रवेश गर्दा एकमुष्ठ प्रति टिकट ५ प्रतिशत बुझाउन पनि राजश्व विभागले निर्देशन दिएको छ ।
बाग्मती प्रदेशको आर्थिक ऐन-२०७८ को अनुसूची ३ ले तोके अनुसार उक्त दररेट कायम गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।