केही समय यता निरन्तर घाटामा पेट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्जात छ । जुन रकम पेट्रोलियम पदार्थ आयात गर्नका लागि पर्याप्त हुँदैन ।
भारतीय आयल कर्पोरेशन (आईओसी)लाई नियमित रूपमा बुझाउनु पर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयतमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।
‘अबको २३ तारिखमा आइओसीलाई १४ अर्ब जति बुझाएपछि मात्रै पेट्रोलियम पदार्थ सहज तरिकाले आपूर्ति हुन्छ तर अहिलेसम्म मूल्य स्थिरीकरण कोषमा २५ करोड रुपैयाँ बाँकी छ, अन्त कतै पनि कुनै कोषमा रकम बाँकी छैन,’ प्रवक्ता उपाध्यायले भने, ‘निगमसँग रहेको मौज्जात र मूल्य स्थिरीकरण कोषमा रहेको सबै रकम सकिएपछि पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा निगम पुगेको छ, अर्को महिनादेखि नै समस्या पर्ने देखिएको छ ।’
उनका अनुसार पेट्रोलियम पदार्थको माग अनुसार आईओसीलाई नियमित रूपमा बुझाउने रकममा १४ दिनपछि नै दुई अर्ब रुपैयाँ नपुग्ने देखिसकेको छ । ‘अब पेट्रोल किन्न २५ करोड मात्रै बाँकी छ, बुझाउनु पर्ने १४ अर्ब हुन्छ, केही रकम घाटामा खरिद गरिएको पेट्रोलियम पदार्थ बिक्रीबाट उठाउन सकिए पनि दुई अर्ब पुग्दैन,’ उपाध्यायले भने, ‘त्यसका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको थियो, अर्थले ऋण उपलब्ध गराउनका लागि राष्ट्रिय बाणिज्य बैङ्कलाई पत्र लेखिदिएको छ ।’
गत असार मसान्तसम्म १५ अर्ब ८० करोड रकम सञ्चित गरेको निगमले कोष रित्तिएपछि यही चैत २२ गते मूल्य स्थिरीकरण कोषबाट चार अर्ब २० करोड रुपैयाँ लिएर भारतीय आयल कर्पोरेशनलाई पठाएको थियो । स्थिरीकरण कोषमा पनि २५ करोड मात्रै मौज्दात रहेपछि निगमले बैङ्कसँग ऋणका लागि आग्रह गरेको, तर कुनै निर्णय आइनसकेको प्रवक्ता उपाध्यायले जानकारी दिए । निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार निगम हाल ३३ अर्ब रुपैयाँ घाटामा पुगिसकेको छ ।