नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयत भने २४ वटै नाकाबाट भइरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सुरुआती आठ महिनामा (साउनदेखि फागुनसम्म) १० वटा नाकाबाट एक रुपैयाँको वस्तु पनि पठाइएको छैन ।
भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सर्लाही, सुनसरी, तातोपानी र टाँडी सीमा भन्सार नाकाबाट पछिल्लो आठ महिनामा कुनै पनि वस्तु निर्यात हुन सकेको छैन । जब कि सोही अवधिमा ती नाकाबाट नेपालमा ३९ अर्ब ८४ करोड १५ लाख ४३ हजार रुपैयाँको वस्तु भित्रिएको छ । चीनसँग सीमा जोडिएका दुवै नाका रसुवागढी र तातोपानीबाट निर्यातशून्य रहेको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको सुरुआती आठ महिनामा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।
नेपालले भद्रपुर, भैरहवा, विराटनगर, वीरगन्ज, ड्राइपोर्ट, गौर, जलेश्वर, जनकपुर, कैलाली, कञ्चनपुर, कृष्णनगर, महेशपुर, मेची, नेपालगन्ज, राजविराज, रसुवा, सर्लाही, सती, सिराहा, सुनसरी, सुथौली, तातोपानी, टाँडी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गरी २४ वटा सीमा भन्सार नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ ।
सबैभन्दा बढी आयात-निर्यात वीरगन्जबाट
नेपालका २४ मध्ये सबैभन्दा ठूलो वैदेशिक व्यापार वीरगन्ज नाकाबाट हुने गरेको भन्सार विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा वीरगन्ज नाकाबाट ४ खर्ब ६३ अर्ब ३४ करोड ७२ लाख ७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । सोही अवधिमा वीरगन्ज नाकाबाट ६६ अर्ब ३६ करोड २ लाख ८३ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।
नेपालको कुल आयात व्यापारमध्ये ३५.४० प्रतिशत र निर्यात व्यापारको ४४.९२ प्रतिशत वीरगन्ज नाकाबाटै हुने गरेको छ ।
यसैगरी नेपालले दोस्रो ठूलो आयात गर्ने नाका भैरहवा हो । बितेका आठ महिनामा भैरहवा नाकाबाट नेपालमा २ खर्ब ६ अर्ब ७५ करोड ४५ लाख ९३ हजार रुपैयाँको वस्तु भित्रिएको छ ।
यस्तै चालु आर्थिक वर्ष सुरु भएयता विराटनगरबाट १ खर्ब ४८ अर्ब ५६ करोड ८६ लाख २६ हजार रुपैयाँ, ड्राइपोर्टबाट १ खर्ब ४६ अर्ब ५५ करोड ४३ लाख ४३ हजार रुपैयाँ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ५७ अर्ब ७३ करोड २० लाख ५७ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ ।