अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैङ्कका उच्च कर्मचारीले नै गोप्य सूचना मिडियामा चुहाउने गरेको आरोप लगाएका छन् । नेपाल राष्ट्र बैङ्कले शुक्रबार आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषयक कार्यक्रममा उनले राष्ट्र बैङ्कका गोप्य सूचनाहरु राष्ट्र बैङ्ककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए ।
अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौँ रकम फुक्का गरिदिन राष्ट्र बैङ्कको सञ्चालक समितिमा रहेका एक सदस्यले बार्गेनिङ गरेको आफूले सूचना पाएको दाबी उनले गरे ।
‘मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु पुर्याइन्छ किन ? यस्तै अनुशासन हुन्छ ? कतिपय सूचनाहरू हुन्छन् रिपोर्ट गर्नुपर्ने, रिपोर्ट हुँदैनन्,’ मन्त्री शर्माले भने, ‘बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले ।’
यसअघि अर्थमन्त्री शर्माले व्यापारी शाहको खातामा अमेरिकाबाट आएको रकम राष्ट्र बैङ्कले रोक्का राखिदिएपछि वैदेशिक लगानी भित्र्याउन आफूले सहजीकरण गरिदिएको प्रतिक्रिया दिएका थिए ।
नेपालको अर्थतन्त्र पनि श्रीलङ्काकोजस्तै अवस्थामा पुग्नसक्ने भनी हुनथालेका चर्चाका सन्दर्भमा मन्त्री शर्माले नेपालको अवस्था श्रीलङ्काकोभन्दा निकै भिन्न रहेको भन्दै त्यस्तो अवस्था नआउने बताए । उनले भने, ‘नेपाल र श्रीलङ्काको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस् । अर्थतन्त्रमा फेरि समस्याहरू छन् त्यो हामीले पनि भनिरहेका छौँ । त्यसलाई बदल्नुपर्छ । तर कतिपयलाई रहर छ श्रीलङ्का बनाउने । तिनको सपना पूरा हुँदैन ।’