आचारसंहिता लागू
स्थानीय निर्वाचनको मतदान हुन ३४ दिन बाँकी रहँदा शुक्रबार रातिदेखि निर्वाचन आचार संहिता लागू गर्न लागिएको छ । आचारसंहिता निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ । आचारसंहिता लागू भएपछि देशका पूरै संयन्त्रहरु निर्वाचनमा मात्रै लाग्नेछन् । निर्वाचनको मिति घोषणा हुनासाथ आचारसंहिता लागू हुनु स्वच्छ निर्वाचनको आधार भएपनि सरकारको माग अनुसार आयोगले ढिलाइ गरेको हो । आयोगले शनिबारदेखि आचारसंहित लागू गराउने तयारी गरेको छ । संहिता लागू भएपछि कर्मचारी नियुक्ति र सरुवा गर्न नपाइने र नयाँ योजना घोषणा र लागू गर्न पाइँदैन । त्यसैगरी कुनै पनि दल वा उम्मेदवारका लागि भड्किलो प्रचार प्रसार गर्न पाइने छैन भने स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि पाइने छैन । कुनै पनि कार्यक्रम गर्नुभन्दा ७२ घण्टा पहिले नै प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने कुरा आचारसंहिता छ ।
मन्त्रिपरिषदका निर्णय
निर्वाचन आचारसंहिता लागू हुनुअघि नेपाल सरकारले एक सयभन्दा बढी निर्णय गरेको छ । बिहीबार बेलुका बसेको बैठकले अनेकौं विवादास्पद निर्णय गरेको छ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा केपी ओलीको सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नियुक्त गरेर सुरक्षण प्रेस खरिद काण्डमा गोकुल बास्कोटासंगै विवादमा परिसकेका सुनिल पौडेललाई नियुक्त गरिएको हो । उनका लागि नियुक्तिको मापदण्ड समेत फेरिएको भन्दै टेलिकम कर्मचारीहरुले विरोध समेत जनाएका थिए । महालेखा परीक्षकको प्रतिवेदनले समेत उनलाई अनियमितता गरेको व्यक्तिको रुपमा अभिलेख राखेको छ । मन्त्रिपरिषद बैठकले त्यसैगरी २० देशका लागि राजदूतहरु मनोनीत गरिएको छ जसमा १२ जना राजनीतिक नातागोताका मानिस छन् । तिनमा पनि विगतमा विवादमा परेका र नेताका जहान परिवारका मानिस रहेका छन् । नियुक्तिमा अपनाइएको योग्यतातन्त्रभन्दा नातावाद र पक्षपात गरेर अर्को रुपको जहानिया शासन बनाएको भन्दै कतिपयले आलोचना गरेका छन् ।
अन्य नियुक्ति
मन्त्रिपरिषद बैठकले समस्याग्रस्त सहकारीको अध्ययन र व्यवस्थापनका लागि समिति गठन गरेको छ । प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहालको अध्यक्षतामा दुई सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा केशव आचार्य नियुक्त भएका छन् । यसअघि पनि त्यो पदमा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन भएको थियो । काशीराज दाहाल प्रशासकीय अदालतमा धेरै वर्ष अध्यक्ष रहेका कानूनविद् हुन् । त्यसैगरी मन्त्रिपरिषदले हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । खुला प्रतिस्पर्धाबाट पाण्डेको नियुक्ति भएको हो । यस्तै गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा चेतन धमलालाई नियुक्त गरिएको छ ।
बन्दी मन्त्रीमा नियुक्त
द्वन्द्वकालीन मुद्दाहरुलाई अन्तर्राष्ट्रियकरण गर्दै आएका एक वकिललाई कानून न्याय तथा संसदीय मामिला मन्त्री बनाएर शपथ गराइएको छ । साविकका कानून मन्त्री दिलेन्द्रप्रसाद बडुलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएर गोविन्द बन्दीका नामले वकालत गर्ने गोविन्द कोइरालालाई कानून मन्त्री बनाइएको हो । गैरसांसद उनले माओवादी द्वन्द्वका बेला उत्पन्न मुद्दाहरु किनारा लगाउने उपाय निकाल्ने जिम्मेवारीसहित प्रधानमन्त्री देउवाले आफूलाई नियुक्त गरेको बताएका छन् । सांसद नभएपनि छ महिनासम्म उनी मन्त्री रहन सक्छन् ।
टाइफाइड खोप
टाइफाइड लाग्न नदिन १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । ७५ लाख बालबालिकालाई टाइफाइड खोप लगाउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरिसकेका छन् । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढी बालबालिकामा टाइफाइड रोगको संक्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
पाकिस्तानमा संसद पुनर्स्थापना
पाकिस्तानको निर्वाचित सदनको नाम राष्ट्रियसभा हो जसलाई सभामुख, उपसभामुख, प्रधानमन्त्री र राष्ट्रपति मिलेर भङ्ग गरेका थिए । त्यो विघटन सर्वोच्च अदालतले बदर गरिदिएको छ । साथै भोलि शनिकार साढे १० बजेभित्र बैठक बस्न अदालतले आदेश दिएको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भैसकेपछि संसद नै विघटन गरिएको थियो । अविश्वासको प्रस्तावमाथि मतदान गराउनकै लागि सर्वोच्च अदालतले सदन ब्युँताइदिएको हो । प्रधानन्यायाधीश उमर अटा बन्दियालसहित पाँच न्यायाधीशको इजलासले सर्वसम्मतिले संसद पुनर्स्थापनाको आदेश दिएको हो । परमादेशपछि पाकिस्तानी विपक्षी दलले खुशियाली मनाएको छ । युक्रेन युद्धमा प्रधानमन्त्री खानले रसियाको पक्ष लिनुका साथै रसिया भ्रमण समेत गरेपछि विवाद हुँदै आएको छ । अमेरिकाले षडयन्त्र गरेर हटाउन लागेको भन्ने वक्तव्य समेत खानले दिएका थिए । तर अमेरिकाले सो भनाइको खण्डन गरेको थियो ।