बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडामा नै रहने बताएका छन् । प्रतिष्ठानलाई भरतपुर सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत र भ्रममात्रै भएको र हेटौँडाबाट नसर्ने उनले बताए ।
मकवानपुरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसँग छलफल गर्दै उनले प्रतिष्ठानको लागि हेटौँडामा नै जग्गा प्राप्त गरी संरचना बनाउनका लागि प्रक्रिया अघि बढिसकेको पनि बताए । यसको लागि सङ्घीय सरकारबाट ९५ करोड र प्रदेश सरकारबाट २० करोड रुपैयाँ बजेट उपलब्ध भएको उनले जानकारी दिए ।
‘हेटौँडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन नसकिने अवस्था भएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्रै लिइएको हो,’ उनले भने, ‘स्नातक तहका ३ विषयको कक्षा हेटौँडामा नै सञ्चालन भइरहेको छ ।’
सरोकारवालाको मागअनुसार हेटौंडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उनले बताए । ‘प्रतिष्ठान अहिलेकै अवस्थामा भने चल्न नसक्ने भएकाले यसलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन प्रतिष्ठानसम्बन्धी अध्यादेश ल्याएको हो,’ उनले भने, ‘प्रतिष्ठान स्थापनाकालदेखि ३ बर्षसम्ममा देखिएका समस्यालाई पनिअहिले समाधानको काम भइरहेको छ ।’
छलफलमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, राप्रपा नेपाल मकवानपुरका गुरूप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।