‘ए मेरो हजुर ४’ चलचित्रकी निर्देशक झरना थापाले उक्त चलचित्रमा स्टारडमभन्दा कन्टेट बलियो हुने बताएकी छिन् । ‘फिल्ममा देखिने अनुहारले दर्शकलाई हलसम्म त ल्याउँछ नै, तर कन्टेन्ट बलियो नभए त्यसले काम गर्दैन । स्टारद्वारा हलसम्म तानिएका दर्शकलाई कन्टेन्टले होल्ड गर्न सक्नुपर्छ,’ उनले भनिन् ।
‘निर्देशकको रूपमा भन्नुपर्दा यो फिल्मले जुन इन्टरटेनिङ भ्यालु बोकेको छ, मलाई त यही नै स्टार लाग्छ,’ उनले भनिन् । थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् ।
‘हामीले के कस्तो काम गर्यौँ भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,’ निर्देशक थापाले भनिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्त्वपूर्ण रहेको बताइन् ।
फिल्मको ट्रेलरमा अनमोल र सुहानाको प्रेम, कमेडी र बिछोड देखाइएको छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ । फिल्ममा सञ्जय लामाको छायाङ्कन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ ।
फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनीलकुमार थापाले निर्माण गरेका हुन् ।