यस वर्षको चैते दशैँ पर्सि चैत २६ गते परेको छ । यस अवसरमा देशका विभिन्न शक्तिपीठहरुमा देवी भगवतीको साधना भैरहेको छ । यसै क्रममा काभ्रेको पनौती श्रीखण्डपुरमा पोखराको जस्तै विन्ध्यवासिनी मन्दिर बनाएर उद्घाटन गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्दिर उद्घाटन गरेका हुन् । मन्दिरको प्राणप्रतिष्ठा गरिसकिएको छ । पोखराकै जस्तो विन्ध्यवासिनी मन्दिर पनौतिमा बनाइएको हो ।
पोखराको विन्ध्यवासिनी मन्दिरका पीठाधीश स्वामी निशेषानन्दको नेतृत्वमा पनौतीमा पनि विन्ध्यवासिनी मन्दिर स्थापना गरेर संस्कृत गुरुकुल खोल्न लागिएको हो । चैते दशैंसँगै त्यहाँ देवी भागवत् नवाह महायज्ञ पनि आयोजना गरेर देवीको उपासनाको काम भैरहेको छ ।
स्वामी निशेषानन्द पोखराको विन्ध्यवासिनीमा बसेर देवीको साधना गर्ने आबाल ब्रह्मचारी सिद्धपुरुष हुन् । उनले यसअघि कास्की, कैलाली र अछाम समेत पाँच ठाउँमा गुरुकुल सञ्चालन गरिरहेका छन् । पनौतीको गुरुकुल सञ्चालन गर्ने खर्च जुटाउन पनि शक्तिसाधना महायज्ञ गरिएको विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान काभ्रेले जनाएको छ । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले स्वामी निशेषानन्दले अनवाद गरी प्रकाशन गरेको 'श्रीमदभागवत् दिग्दर्शन'' विमोचन गरे । उनको यो पन्ध्रौं कृति हो ।
चैते दशैं शुरु भएको प्रतिपदाको दिन चैत १९ गते राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले उद्घाटन गरेको देवी भागवत नवाह ज्ञान महायज्ञ २७ गते समापन गर्ने कार्यक्रम छ ।
नवाहमा भाष्कर ब्रह्मचारी नारायण देवकोटाले कथा वाचन गरिरहेका छन् । रुद्राभिषेक र गायत्रीहोम पनि भैरहेको आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले बताए । श्रीखण्डेश्वरमा विन्ध्यवासिनी मन्दिरसँगै यज्ञमण्डप पनि बनाइएको छ । अब छात्राशाला बनाउने तयारी गरिएको छ । आदर्श विद्या मन्दिरका सञ्चालक समेत रहेका समाजसेवी रामप्रसाद तिमल्सिनाले त्यहाँ बहूद्देश्यीय सामुदायिक भवन, सन्त निवास र सत्सङ्ग भवन पनि निर्माण गरेर श्रीखण्डपुरलाई आध्यात्मिक र धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने बताए ।
पुस्तक विमोचन समारोहमा बोल्दै पनौतीका नगरप्रमुख भीमप्रसाद न्यौपानेले आफ्नो नगरमा जनस्तरबाट भएको कामलाई सहयोग गर्नु नगरपालिकाको कर्तव्य भएको भन्दै आवश्यक सबै सहयोग गर्ने वचन दिए ।