लिङ्क : https://youtu.be/ECCupBxKuG4
१. अर्थतन्त्र सुधार्नु पर्ने चिन्ता
देशको ढुकुटीमा अमेरिकी डलरको सन्चिती घट्दै जाँदा नेपाल पनि श्रीलंकाको बाटोमा लाग्ने हो कि भन्ने आशंका बढेको छ । अर्थतन्त्रलाई श्रीलंकाको बाटो समात्न नदिन अर्थमन्त्रालयले विभिन्न विकल्पहरु तयार पारेको छ । तिनमा हप्तामा दुई दिन बिदा दिएर सवारी कम गुडाउने र पेट्रोलियम पदार्थको आयात घटाउने कुरा पनि छ । साथै सवारिमा जोरबिजोर प्रणाली लगाउने सोच पनि बनाइएको छ । मन्त्रिपरिषदबाट मितव्ययिताका प्रावधानहरु लागू गराउने सोच अर्थ मन्त्रालयले राखेको छ । श्रृंगारका साधन लगायत विभिन्न वस्तुको आयात घटाएर अमेरिकी डलरको खर्च कम गर्ने प्रस्ताव पनि तयार पारिएको छ । डलर तिरेर ल्याएको तेलको सट्टा बिजुलीको खपत बढाउने उपाय अवलम्बन गर्न पनि सुझाउ दिइएको छ ।
२. बढ्यो इन्धनको भाउ
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको छ । यसअघि १५ सय ७५ रुपैयाँ रहेको ग्यासको मूल्य अब १६ सय रुपैयाँ पुगेको छ ।
३. ऋषि धमलालाई स्पष्टीकरणको हमला
ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएको बेला विमानचालक बस्ने ठाउँ ककपिटमा जबर्जस्ती प्रवेश गरी प्रधानमन्त्रीको भ्रमणबारे प्रत्यक्ष प्रसारण गरेका थिए । चालकदलले रोक्दारोक्दै प्राइम टेलिभिजनबाट जबर्जस्ती ककपिट लाइभ गरेकोमा उजुरी परेपछि काउन्सिलले स्पष्टीकरण सोधेको हो । त्यसरी लाइभ गर्नु पर्नाको कारण काउन्सिलले माग गरेको छ ।
त्यसै गरी नेपाल पत्रकार महासंघले पनि सोही विषयमा प्रेस विज्ञप्ति निकालेको छ । तर प्रेस विज्ञप्तिमा ऋषि धमलाको नाम उल्लेख छैन । बरु सबै पत्रकारलाई लक्ष्यित गर्दै त्यसरी जबर्जस्ती गर्न नहुने भनी सबैलाई सम्झाउने खालको विज्ञप्ति महासंघले जारी गरेको छ । जबर्जस्ती प्रवेश गर्नु धमलाको एक परिचय नै हो । यसअघि नेपाल बार एसोसिएसनको बन्द बैठकबाट पनि लाइभ गरेपछि उनलाई वकिलहरुले निकाल्नु परेको थियो ।
४. चोभार बन्दरगाह उद्घाटन
चोभारमा रेल पनि आउँदैन, फास्ट्र ट्याक भनिएको बाटो एक्सप्रेस वे पनि बनिसकेको छैन । तर सुख्खा बन्दरगाह सञ्चालनमा ल्याइएको छ । अब सामुद्रिक बाटोबाट ल्याइएका सामानको जाँचपास नै चोभार सुख्खा बन्दरगाहमा गर्ने गरी उद्घाटन गराइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार चोभार बन्दरगाह उद्घाटन गरे । विश्व बैंकको ऋण सहयोगमा नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत चोभारको २२८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह बनेको हो । बन्दरगाहमा कूल ५०० कन्टेनर र ५०० ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्रका साथै भन्सार, क्वारेन्टिन, सुरक्षा, अपरेटिङ बैंक भवनलगायत छन् ।
५. चुनावी कार्यक्रम बिहान ८ देखि साँझ ७ बजेसम्म मात्रै
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रमका लागि समय तोकेको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा एक निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसासहितका कार्यक्रमका लागि विहान ८ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकेको हो ।
त्यस्तै आयोगले अनुमति बिना कार्यक्रम गर्न रोक लगाएको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो ।
त्यस्तै आयोगले जुलुस वा आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेद्वारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नहुने निर्देशनमा उल्लेख गरेको छ ।
६. पुरानै अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि पटकपटक जारी हुँदै म्याद समाप्त भएर निष्क्रिय हुँदै आएका पाँच वटा अध्यादेश फेरि जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा जारी ती अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् ।
७. एआइजी बढुवाको आगामी सुनुवाइ २८ गते
सर्वोच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिटमा कारण देखाउ आदेशसहित छलफलमा बोलाएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले प्रतिवादीहरूलाई अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई २८ चैतमा बोलाएको छ ।
८. सवा तीन करोडको सियो
नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा आयात गरेको छ । पछिल्लो आठ महिनामा कूल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको तथ्याङ्कले देखाउँछ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यका सियो नेपाल भित्रिएको हो ।
सो मुल्यमा २ करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार ४७३ केजी सियो नेपालले आयात गरेको छ । विभागका अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्विट्जरल्याण्ड, ताइवान, अमेरिका र कतारबाट नेपालमा सियो भित्रिएका छन् ।