अर्बपति खरिदार लक्ष्मण बस्नेत घुस लिँदालिँदै समातिएपछि मालपोत कार्यालय चाबहिलमा उनीसँगै वर्षौंसम्म काम गरेका सहकर्मीहरु त्रसित बन्दै सरुवा मागेर हिँडेका छन् । त्यसरी सरुवा मागेर राष्ट्रिय योजनामा जानेहरुमा कृष्णप्रसाद पोखरेल र ओम आचार्य छन् । अर्का एक जनाले भने भैसकेको सरुवा थमौती गरेर चाबहिलमै बसेका छन् ।
अहिले कर्मचारी सरुवा गर्ने समय होइन तर सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई चाबहिल मालपोतबाट योजना आयोगमा पठाइदिएको हो । ट्रेड युनियनका नेताहरुलाई प्रभावमा पारेर सोर्सफोर्सको आधारमा उनीहरुले बेमौसममै घुस खाने अड्डाबाट प्रशस्त भत्ता खाने अड्डामा गएका हुन् । सहकर्मी लक्ष्मण बस्नेत पक्राउ परेको र आफूहरु पनि नगरानीमा परेको भन्दै उनीहरुले एक महिनायता मोबाइलमा कुरा नगर्ने र कहीँ कसैलाई नभेट्ने गरेको मालपोत स्रोतले बताएको छ ।
नापी र मालपोतका कर्मचारीको मिलेमतोमा जग्गाको स्वामित्व नै गडबड गर्ने काम व्यापक बनेको भन्ने गुनासो चाबहिल मालपोतमा केही वर्षदेखि व्यापक छ । पक्राउ परेका लक्ष्मण बस्नेत ८ वर्षदेखि चाबहिल मालपोतमा थिए भने कृष्ण पोखरेल र ओम आचार्य ६ वर्षदेखि त्यहाँ थमौती गरेर बसेका थिए । कर्मचारीको सरुवा २ वर्षमा हुने गरेको भएपनि उनीहरु जसरी पनि चाबहिलमै टिकिरहेका थिए ।
ती तीन जनासंगै अन्य कर्मचारीको मिलेमतोमा साढे तीन सयभन्दा बढी फाइल निर्णय नगरेर राखिएको पीडितहरुले जानकारी दिए । घुसको कुरो मिले फाइल अघि बढ्ने अन्यथा झुलाइरहने काम कर्मचारीले गरेको गुनासो पीडितहरुले ठाउँठाउँमा पोख्दै हिँडेका छन् । घुस बिना काम नगरेका फाइलहरुको चाङसँगै अख्तियारमा उजुरीको चाङ पनि चुलिँदो छ भने पीडितहरुले प्रहरी पनि गुहार्न थालेका छन् । त्यस्ता कर्मचारीलाई जसरी पनि समात्ने प्रयासमा अख्तियार र प्रहरी दुवै रहेको सुइँको पाएर नै उनीहरु कानूनले तोकेको सरुवाको सिजन नहुँदै बसीबसी धेरै भत्ता खान पाइने योजना आयोगमा सरुवाका लागि शक्ति केन्द्रहरुबाट दवाव आएको सामान्य प्रशासन स्रोत बताउँछ ।
ट्रेड युनियनका नेताहरुले यस्तै कर्मचारीको सरुवा र थमौती गरेर थप आर्जन गर्ने गरेको अर्को गुनासो छ । सरुवाको समय कानूनले नै तोकेको भएपनि ती दुई कर्मचारीलाई अहिले सरुवा गर्दा कर्मचारी नेता र सामान्य प्रशासनका हाकिमहरुले दोहोरो लाभ लिएका छन् । नेताहरुले कृष्ण पोखरेल र ओम आचार्यले चाबहिल नछोड्दै अन्य दुई कर्मचारीलाई चाबहिलस्थित उनीहरुको ठाउँमा पठाउन भ्याइसकेका छन् ।
सेवाग्राहीलाई झुलाएर घुस माग्ने त मालपोत र नापीका कर्मचारीको परिचय बनेकै हो, दर्ता हुन बाँकी जग्गा धेरै नै चाबहिल कार्यालयको क्षेत्रधिकारमा रहेको र दर्ता भएका जग्गाका धनी पनि काठमाडौमा नबस्ने हुनाले मालपोत र नापीका कर्मचारीबाट जग्गा असुरक्षित भएका उजुरी विभिन्न निकायमा बढ्दैछन् । हालसाविक गर्ने र भिडाउने नाममा जग्गाधनीको जानकारीबिना नै क्षेत्रफल थपघट गर्ने काम केही वर्षयता चाबहिल कार्यालयमा व्यापकै बनेको गुनासो छ ।
चाबहिल नापी र मालपोतमा अख्तियार र प्रहरीले अरु पनि बदमास कर्मचारीहरु समात्ने प्रयास गरिरहेको थाहा पाएरै कृष्ण पोखरेल र ओम आचार्यले हत्तपत्त योजना आयोगमा सरुवा मिलाएपनि उनीहरुको ठाउँमा गएका नयाँ र पुराना बदमासहरु कुनै पनि बेला समातिन सक्ने अवस्था रहेको भूमि व्यवस्था स्रोतले बताएको छ । साथै बदनियतसाथ क्षेत्रफल घटबढ गरेका फाइलहरुको छानबिन गरी कुनै पनि समयमा बदमासीमा संलग्नहरुमाथि कारबाही हुन सक्ने पनि सो स्रोतको भनाइ छ ।
पछिल्लो समाचार अनुसार चैत २२ गते मङ्गलबार साँझ चाबहिल नापीका दुई अमिनलाई अख्तियारले लगनखेलबाट नियन्त्रणमा लिएको छ । नापी कार्यालय चावहिल १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई अख्तियारको हिरासतमा राखिएको छ ।
उनीहरुले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोली खटाएर समातिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् । बुढानीलकण्ठको फिल्डमा एक लाख रुपैयाँ घुस बुझेर निवासतर्फ जाने क्रममा उनीहरुलाई उक्त घुस रकमसहित समातिएको भण्डारीले बताए । ललितपुर महानगरपालिका वडा नं. -५, लगनखेलको महालक्ष्मी मार्गबाट केसी र भट्टलाई अख्तियारको टोलीले समातेर टंगालको हिरासतमा लगेको हो ।