पुस्तक अध्ययन संस्कृति बढाउन भक्तपुरमा तीन दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीको पहिलो दिन पाठक तथा पुस्तकप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनी चैत २३ गतेसम्म विविध कार्यक्रमसहित हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले गरेका थिए । धिमेबाजाको संगीतसँगै प्रदर्शनी उद्घाटन गरिएको थियो । साथै कार्टुनिष्ट दामोदर सुवालको कार्टुन संग्रह “दामोदरका सय कार्टुन“ पुस्तक पनि त्यही अवसरमा विमोचन गरियो ।
कार्यक्रममा बिजुक्छेँले राजनैतिक अस्तव्यस्तताको भण्डाफोर गर्दै व्यंग्यचित्रले जनताको चेतनास्तर बढाउने बताए । आरम्भ नेपालले भक्तपुरको कमलविनायकस्थित लामगालमा सुरु गरेको पुस्तक प्रदर्शनी उद्घाटनपछि स्टलहरुको अवलोकन गर्दै उनले माओको अन्तिम लडाइँ, आन्तोन चेखबका कथाहरू, सिलु म्ये र सामाजिक प्रतिरोध, चुयाँ (चिनियाँ साँस्कृतिक नाटक), सुवर्ण समशेर, स्टालिन, लेनिनको जीवनी, संस्कृत नेपाली शब्दकोश, वैज्ञानिक गोरेटोमा र मार्मिक सम्झनाहरू नामक पुस्तकहरु छनोट गरे ।
कार्यक्रमका अर्का अतिथि वागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले समाजका देखिएका विसंगतिप्रति तिखो व्यंग्यवाण प्रहार गर्ने भएकोले कार्टुन पनि जनताको साहित्य हो भने । पुस्तकका रचयिता कार्टुनिष्ट दामोदर सुवालले कार्टुनले सामाजिक मर्यादाक्रम नाघ्न नहुने र नेताहरूको नकारात्मक चर्तिकला र व्यवहारले कार्टुनको जन्म हुने बताए ।
प्रदर्शनीमा वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठले विकृति विसंगतिमाथि व्यंग्य गर्दै नेताहरूको व्यवहार शैलीमा परिपक्वता ल्याउन कार्टुन साहित्य महत्वपूर्ण भएको बताए ।