जनकपुरधाम । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए । आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै १०ः१५ मा आइपुगेको थियो ।
पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए । दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिए अनुसार निर्धारित तालिका अनुसार नै नियमित रेल चल्न थालेको उनले बताए । जयनगरबाट ८ः३० र ३ बजे छुट्ने र कुर्थाबाट १०ः३० र ५ः१५ बजे छुट्ने गरी रेलको तालिका बताइएको छ ।
लामो समयदेखि थन्किएको रेल नियमित रूपमा सञ्चालन हुन थालेपछि स्थानीयमा उत्साह थपिएको छ ।रेल सेवा सञ्चालन भएबाट यहाँको पर्यटन तथा धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने विश्वास स्थानीय युवा सञ्जय झाले व्यक्त गरे । उनले भने, “हामीले आफ्नै ठाउँमा केही गर्छुभन्दा पनि अवसर मिल्ने देखिन्छ ।”
रेल सञ्चालन भएको हेर्न कतिपय शनिबार बिहानै त कतिपय शुक्रबार साँझदेखि स्टेशन पुगेर बसेका थिए । कतिपयले रेलको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाले त कतिपयले आफन्तजनलाई पठाए । जनकपुरका युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कतिपय जनकपुरभन्दा टाढा–टाढाबाट समेत रेल हेर्न आएका थिए ।
रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन/हल्ट छन् । तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् । नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमै रोकिन र सञ्चालन गर्न सक्ने खालको रहेको रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) अमन चित्रकारले बताए । यसमा चालकले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ । एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्काे स्टेशन आउँछ ।
यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए । उनले भने, “त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ ।” डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो ।
भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो । दुई सरकारबीच सम्झौता भई (जिटुजी प्रक्रियामार्फत) रेल खरिद भएको हो । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिए ।
कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ । एसी कक्ष (वातानुकूलित कक्ष)का लागि भने त्यसको पाँच गुणा अर्थात रु ४५० तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वतः भाडादर त्यो भन्दा कम हुनेछ ।
जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । यसको एक डेढ वर्ष पछिदेखि काम सुरु भएको थियो । भारत सरकारसँग सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम अझै सुरु हुन सकेको छैन । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन् ।
नेपालमा राणाकालमै वि.सं. १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा वि.सं. १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । वि.सं. २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन । रेलमार्ग सुधार गर्ने नेपाल भारतबीचको समझदारी अनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो । जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत रु पाँच अर्ब भारतीय रुपैयाँ रहेको छ । नेपाल सरकारले खरिद गरेको रेलगाडीको मूल्य रु एक अर्ब रहेको छ । विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्तिको काम अघि बढेको छ ।