सपरिवार अमेरिकाको बोष्टनमा बस्थे । जागीर राम्रै थियो । हार्वर्ड विश्वविद्यालय अन्तर्गतको अस्पतालमा ल्याब टेक्निसियन थिए । काम राम्रो थियो । त्यसै अनुसार कमाइ पनि । पारिवारिक र सामाजिक जीवन सहजरूपमा चलेकै थियो ।
पारिवारिक भेटघाटको सिलसिलामा नेपाल आएका थिए । आफू अस्पतालको प्रयोगशालामा काम गर्ने हुँदा नेपालमा के रहेछ त स्वास्थ्य परीक्षणको अवस्था भन्ने जिज्ञासा जाग्यो । अस्पतालहरूमा गए । स्वास्थ्य प्रयोगशालाहरू हेरे । यहाँका प्रयोगशालाहरूले दिने सेवा र गुणस्तरबारे बुझे । मन रमाएन ।
कैयन् गम्भीर रोगहरूको परीक्षण नेपालमा नहुने र स्याम्पल भारत पठाउनु पर्ने अवस्था, त्यस्तो स्याम्पल बिग्रिएर गलत रिपोर्ट आउन सक्ने अवस्था, गुणस्तरीय परीक्षणबिना नै चिकित्सकले यो रोग हुनुपर्छ भनेर अनुभव र अनुमानका भरमा औषधि चलाउनु पर्ने अवस्था । यस्तै यस्तै ।
आफूले काम गर्ने ठाउँको सेवा र नेपालको सेवालाई तुलना गरेर हेरे । आकाश जमिनको अन्तर । रोगको निदान नै सही रूपमा र सही समयमा हुन सकेन भने समाधान अर्थात् उपचार कसरी ? उनको दिमाग यसैमा घुम्न थाल्यो ।
बसाइ छोटो थियो । अमेरिका फर्किहाले । अस्पतालमा गएर काम गर्थे । नेपालको अवस्था दिमागमा खेलिरहन्थ्यो । नेपालमा केही गर्नुपर्छ भन्ने भावना उनको मनमा बलियो बन्दै गयो । तर गर्ने कसले ? सानोतिनो लगानीले हुनसक्ने केही थिएन ।
दक्ष ल्याब टेक्निसियन मात्रै थिएनन् उनी, व्यवस्थापन (Management) विषयका विद्यार्थी पनि थिए । साथै नेपालमा रहँदा र पछि अमेरिका गएपछि पनि कतिपय व्यवस्थापकीय काम गरेको अनुभव उनीसँग थियो । आवश्यक सहयोग जुट्यो भने नेपालमा गएर ल्याब सञ्चालन गर्नसक्छु भन्ने व्यवस्थापकीय आँट उनमा बन्यो ।
त्यसैले आफ्नो सम्पर्कमा रहेका, मनले खाएका मानिसहरूसँग कुरा राख्न थाले । अमेरिकैमा रहेका केही नेपाली यसमा हातेमालो गर्न सहमत भए । त्यसका अतिरिक्त क्यानडा र अष्ट्रेलियामा रहेका नेपाली मनहरू पनि सकारात्मक देखिए । काम गर्ने थलो नेपाल भएकाले नेपालभित्रैबाट पनि होष्टेमा हैँसे गर्नेहरूको जरुरत थियो । नेपालमै कार्यरत केही विशेषज्ञ चिकित्सक तथा लगानीकर्ता सङ्घसंस्था पनि यसमा साथ दिन तयार भए ।
यति मात्रै होइन काममा उनको दक्षता र लगनशीलताबाट प्रभावित बनेका उनैले काम गरेका अस्पतालका वरिष्ठ चिकित्सकहरूले समेत उनलाई हौस्याए । आवश्यक पर्दा चिकित्सकीय परामर्श दिन तथा परेमा प्राविधिकहरूलाई तालिम दिन पनि सहयोग गर्ने वचन दिए । साथै प्रोत्साहनस्वरूप इम्युनोफ्लोरेस्सेन्ट माइक्रोस्कोपजस्तो महङ्गो उपकरण उनलाई उपहार दिएर पठाए ।
यसरी देश विदेशबाट लगानी गर्ने र परेको सहयोग गर्ने मनहरू जुटेपछि काठमाडौँमा एउटा अत्याधुनिक सेवासहितको गुणस्तरीय स्वास्थ्य प्रयोगशाला सञ्चालन गर्ने आफ्नो हुटहुटीलाई कार्यरूपमा परिणत गर्ने उत्साह बोकेर अमेरिकाबाट नेपाल आए उमेश पनेरू ।
काठमाडौँको नक्साल नागपोखरीमा सञ्चालनमा रहेको ISO 15189 मान्यताप्राप्त काठमाडौँ प्याथल्याब एण्ड डायग्नोष्टिक सेन्टरसँग कुराकानी भयो । यसका तत्कालीन सञ्चालकहरू सहकार्य गर्न सहमत भएपछि यसैमा व्यवस्थापकीय परिवर्तन गरी स्तरोन्नति गरेर सञ्चालन गर्ने गरी कदम अगाडि बढ्यो ।
विगत १० वर्षदेखि सञ्चालनमा रहेको यो प्रयोगशालालाई अहिले महाराजगन्जस्थित अमेरिकी राजदूतावास नजिकैको सुविधासम्पन्न नयाँ भवन (महाराजगन्ज प्लाजा) मा सारिएको छ । यसमा अत्याधुनिक उपकरणहरू थपिएका छन् र थपिँदै छन् पनि ।
कहिले अमेरिका त कहिले नेपाल गर्दै प्रयोगशाला व्यवस्थापनमा लागेका पनेरू हार्वडको जागिर छोडी अब काठमाडौँमै बसेर प्रयोगशालाको गुणस्तर सुधार्ने तथा यसको सेवा विस्तार गर्ने काममा खटिएका छन् । धेरैभन्दा धेरै रोगहरू नेपालमै परीक्षण गरेर पत्ता लगाउन सकियोस् र स्याम्पलहरू विदेश पठाएर नतिजा पर्खनुपर्ने अवस्था नरहोस् भन्ने आफ्नो सोच रहेको पनेरू बताउँछन् ।
हिस्टोप्याथोलोजी क्षेत्रमा लामो अनुभव बटुलेका पनेरू अमेरिकाको ASCP Board of Certification बाट मान्यताप्राप्त हिस्टोटेक्नोलोजिस्ट हुन् । उनी नेपालमा हिस्टोप्याथोलोजी परीक्षणको अवस्था दयनीय देख्छन् । शङ्कास्पद अङ्गको बायप्सी परीक्षण गरी क्यान्सर छ कि छैन र छ भने कुन अवस्थाको हो भनी सही रूपमा र समयमै खुट्याउन सक्ने प्रविधि नेपालमै स्थापना गर्न उनी दत्तचित्त छन् । काठमाडौँ प्याथ ल्याब अहिले नै पनि हिस्टोप्याथोलोजी परीक्षणमा तुलनात्मक रूपमा नेपालमा अग्रणी रहेको उनको दावी छ ।
उनका अनुसार रक्तक्यान्सर (Blood Cancer) सम्बन्धी परीक्षणका लागि प्रयोगशालामा हालसालै फ्लो साइटोमेट्री (Flow Cytometry) परीक्षण उपकरण सञ्चालनमा ल्याइएको छ । रक्तक्यान्सर सम्बन्धी उपचारको लागि विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो मार्गदर्शन (WHO classification)ले यो परीक्षणलाई अत्यावश्यक मानेको छ । यसअघि यी परीक्षणहरू गर्न बोन म्यारो स्याम्पल भारत पठाउने गरिन्थ्यो । तर ४८ घण्टा भित्र परीक्षण गरिसक्नु पर्ने हुँदा स्याम्पल नै बिग्रिएर धेरै पटक दोहोर्याएर पठाउनु पर्ने र गुणस्तरहीन रिपोर्ट आउने अवस्था समेत थियो । ल्याबमा फ्लो साइटोमेट्री सेवा सुरु गरिएपछि अब त्यस्तो अवस्थाको अन्त्य भएको छ । उनी थप्छन् - प्रयोगशालाले निकट भविष्यमा नै इम्युनोहिस्टोकेमिस्ट्री (IHC) अन्तर्गत न्युरो प्यानल पनि सुरु गर्ने भएको छ ।
यसैगरी मिर्गौलाको पत्थरी परीक्षण गरी त्यसमा रहेका तत्वहरू पत्ता लगाउने FTIR Spectrometer नेपालमै पहिलो पटक यहाँ स्थापना गरिएको छ । यसबाट परीक्षण गरेर पत्थरीको विश्लेषण गरिसकेपछि केकस्ता खानपानलाई परहेज गरेमा फेरि पत्थरी हुनबाट जोगिन सकिन्छ भनेर थाहा पाउन सकिन्छ ।
साथै बायोकेमिष्ट्री (Biochemistry), हेमाटोलोजी (Hematology), माइक्रोबायोलोजी (Microbiology), इम्युनोएसे इआईए (Immunoassay EIA), साइटोप्याथोलोजी (Cytopathology), एफएनए इम्युनोफ्लोरेस्सेन्ट (FNA Immunofluorescent), अटोइम्युन प्यानल (Autoimmune Panel), डाउन सिन्ड्रोम (Down Syndrome) परीक्षण लगायतका सेवाहरू यहाँ उपलब्ध छन् । साथै प्रयोगशालामा छिट्टै आर्टी पीसीआर् (RT PCR) परीक्षण सेवा पनि थप गर्न लागिएको उनले बताए ।
पनेरूका अनुसार नेपालमा सञ्चालित ५ वटा प्रयोगशालाले मात्रै हालसम्म आइएस्ओ मान्यता प्राप्त गरेकोमा काठमाडौँ प्याथ ल्याब यीमध्ये दोस्रो हो । साथै कलेज अफ अमेरिकन प्याथोलोजी (CAP)बाट पनि मान्यता हासिल गर्नेतर्फ छिटै नै पहल गर्न प्रयोगशाला अग्रसर छ । यसैगरी हाल ‘ख’ श्रेणीमा रहेको यो प्रयोगशालालाई ‘क’ श्रेणीमा स्तरोन्नति गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ ।
विरामीलाई समग्र स्वास्थ्य सुविधा एकै थलोबाट उपलब्ध गराउने उद्देश्य राखेर काठमाडौँ प्याथल्याब एण्ड डायग्नोष्टिक सेन्टरले अब विविध विषयका विशेषज्ञ चिकित्सकहरूको सेवा पनि एकै थलोबाट उपलब्ध गराउने चाँजो मिलाएको छ । यसको लागि त्यसै भवनमा ग्यालेक्सी स्पेसियालिटी क्लिनिक स्थापना गरेको छ । क्लिनिकमा विविध विषयका अनुभवी विशेषज्ञ चिकित्सकहरूले विभिन्न समयमा सेवा दिने व्यवस्था मिलाएको पनेरूले बताए ।
यति गर्दागर्दै पनि आफूले अमेरिकामा बसेर सोचे अनुसार काम गर्न भने नेपालको विभिन्न परिस्थितिले साथ नदिएको अनुभव पनेरूको छ । नेपालमा स्वाथ्य बिमाको राम्रो व्यवस्था नहुँदा विरामीले आफ्नै खल्तीबाट रकम तिर्नुपर्ने बाध्यताले सकेसम्म कम मात्रै परीक्षण गराउने र त्यो पनि सस्तो खोज्ने प्रवृत्ति, प्रयोगशालाहरूबीच अस्वस्थ प्रतिष्पर्धा, सरकारी कामकारबाहीमा हुने ढिलासुस्ती जस्ता कुराहरूले उनको टाउको दुःखाएको छ ।
नेपालका प्रयोगशालाहरूको अवस्थाबारे स्पष्ट पार्दै पनेरूले भने, ‘नेपालमा ठूलो लगानी गरेर अत्याधुनिक उपकरण तथा उच्च गुणस्तरका रिएजेन्टहरू झिकाउँदा आवश्यक सङ्ख्यामा स्याम्पलहरू प्राप्त भएनन् र निश्चित अवधिभित्र प्रयोग हुन सकेन भने रिएजेन्टको म्याद गुज्रिएर लाखौँको लगानी त्यत्तिकै खेरजाने जोखिम छ । त्यसैले प्रयोगशालाहरूले लगानी गर्न डराइरहेका छन् र स्याम्पलहरू भारत पठाएर परीक्षण गराउने गरेका छन् ।’
समग्रमा स्वास्थ्य परीक्षणका अत्याधुनिक उपकरण, गुणस्तरयुक्त रसायनहरू तथा कुशल प्राविधिकको संयोजनबाट समयमै रोग खुट्याउने भरपर्दो सेवा भोलिका दिनमा नेपालमै दिन सकिने कुरामा पनेरू विश्वस्त छन् । उनी भन्छन् – ‘जति पनि परीक्षण गरिन्छन् तिनमा गुणस्तरमा तलमाथि हुन नदिन हामी सचेत छौँ । यो हाम्रो पहिलो फोकस हो । अहिले घाटामै गएर ल्याब सञ्चालन गरिरहेका छौँ र नेपालमै धेरैभन्दा धेरै रोगको गुणस्तरीय परीक्षण हुने अवस्था सिर्जना गर्नमा लागिपरेका छौँ । भोलिका दिन अवश्य उज्याला हुनेछन् ।’