भक्तपुरको ताथलीमा भिर, पाखा, खोल्सा र इट्टाभट्टाले कोप्र्याएर खनेका ठाउँमा जग्गा प्लटिङ गर्ने होडबाजीले जग्गा प्लटिङ नसक्दै दुई जनाको ज्यान गएको खुलेको छ । भिर र खोल्सा खारेर घडेरी बनाई बिक्री गर्ने ठेकेदार उच्च प्रहरी अधिकारीको आफ्नत भएकोले शुक्रबार ढिस्को घटनालाई समासुम पार्न खोजिएको स्थानीयले आरोप लगाएका छन् ।
चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर आज दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
उनका अनुसार जग्गामा पर्खाल लगाउने क्रममा अचानक खसेको ढिस्कोले पुर्दा दुई जनाको मृत्यु भएको र उनीहरूको राति ७ः३० बजेसम्म घट्नास्थलमै शवको पहिचान तथा मुचुल्का उठाउने काम गरियो । चम्पा भन्नेको जग्गा प्लटिङ हो भन्ने सुन्नमा आए पनि जग्गा प्लटिङ कसले गरेको हो भन्ने यकिन हुन नसकेको प्रहरीको दाबी छ ।
तर लामो समयदेखि जग्गाको कारोबार गर्दै आएकी चम्पा कुस्मा प्रहरीको उच्च अधिकारीको पत्नी भएकीले प्रहरीले शव छिटो लगेर घटनाको गम्भीररूपमा अनुसन्धान नगर्न खोजेको भन्दै स्थानीयले घट्नास्थलमै विरोध गरी शव लैजान रोकेको स्थानीयले जानकारी दिए ।
स्थानीय प्रत्यक्षदर्शीले भने भिरालो जग्गालाई सम्याएर पुरेको माटाको ढिस्को माथिबाट खसेर पर्खाल लगाउँदै गरेको मजदुर पुरिएको जानकारी दिएका छन् । स्थानीय राजेन्द्र थापाले दिउँसो पर्खाल लगाउने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएपछि तीन ट्रक प्रहरी आएर शव लैजान खोज्दा स्थानीयले विरोध गरेको जानकारी दिए ।
मजदुरको बिमा नभएको, जथाभावी प्लानिङ गरेर ज्यान गएको भन्दै उनले प्लानिङको स्वीकृति दिनेदेखि प्लानिङ गर्ने र पर्खालको ठेक्का लिने सबैको घटनामा लापर्वाही भएको बताए । घट्नास्थल पुगेका स्थानीयले सस्तोमा भिरको जग्गा किनी डोजरले सम्याएर भिरमा गरिएको जग्गा प्लटिङले एकातिर दुई जनाको ज्यान गएको र यस्तो जग्गा किनेर घर बनाउने सयौँको ज्यान जोखिममा पर्ने सम्भावना रहेको भन्दै भिरपाखा मासेर जग्गा प्लानिङ गर्ने र स्वीकृत दिने निकायलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
प्रहरीले घटना दिउँसोको भए पनि राति करिब ८ बजे शवलाई परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रनाउ पाण्डेको भनाइ छ । स्थानीयको विरोधका कारण ढिलो गरी शवहरु राति उठाइएको हो ।
भिरपाखा, खोल्साखोल्सी र भंगालहरु खारेर प्लटिङ गरी घडेरी बनाउने र बेच्ने कामलाई स्थानीयहरुले "प्लानिङ्" भन्ने गरेका छन् । काठमाडौं उपत्यकामा अन्यत्र खाली जग्गा सकिँदै गएकोले जग्गा दलालहरु काँठका भिरपाखा र खोल्साखोल्सी सम्याएर बिक्री गर्नेे कार्यमा सक्रिय हुँदै आएका छन् ।
भक्तपुरको जगातीबाट ओर्लिएर ताथली जाने बाटो गहिरोमा रहेकोले बर्खामा डुबान हुने र कैयौं दिनसम्म बाटो बन्द हुने गरेको छ । बर्खाको डुबान समस्या थाहा नहुनेहरुलाई हिउँदमा जग्गषा देखाएर बिक्री गर्ने गरिएको एक पीडितले बताए ।
ताथली क्षेत्रमा इट्टाभट्टाको वायु र माटो प्रदुषणको ज्यादती पनि एक प्रमुख समस्या हो भने लापर्बाहीपूर्ण तरिकाले जग्गा गहिर्याएर खन्ने चलनले धेरै जग्गाको स्वरुप बिग्रिने गरेको पनि गुनासो छ ।