भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन ।
प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनुका साथै पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल भएको थियो । नेपाली काङ्ग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धबारे पनि विचारविमर्श भएको छलफलमा सहभागी परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिए ।
प्रधानमन्त्रीका साथ प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव थिए ।
साँझ प्रधानमन्त्री देउवासँग भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गरे । नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग भेट गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनको यो भ्रमणले भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले नेपाली दूतावासमा आयोजना गरेकाे स्वागत समारोहमा सहभागी भएका छन् ।
चैत १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने छन्। प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ ।
३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम रहेकाे छ ।