एनिज पिङपोङ क्लब, नेपालका चन्दन शाहीले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष एकलमा शुक्रबार स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा चन्दनले इन्डियन मास्टर, भारतका हीरा गोस्वामीलाई ८–११, ११–६, ११–८ र ११–९ को सेटमा पराजित गरे । एनिजका रक्तचन्द्र मानन्धर र ललितपुरका निकेनमान प्रधान तेश्रो भए ।
विभिन्न ६ स्पर्धा समावेश प्रतियोगितामा ४ स्पर्धाको फाइनल सम्पन्न भइसकेको छ । बैंक अफ बरोडा, भारतले पुरुष÷महिला टिम इभेन्टमा स्वर्ण जितेको छ भने चन्दनसहित एनिजका राजन सुब्बाले भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण हात पारेका छन् । पुरुष÷महिला एकलको फाइनल प्रतियोगिता अन्तिम दिन शनिबार हुने छ ।
सम्झना ल्याबको प्रमुख प्रायोजनमा ललितपुर टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष एकलमा नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र भारतका स्वार्नेन्दु चौधरी फाइनलमा प्रवेश गरे ।
श्यान्टुले बरोडाका श्रीकृष्ण अरुणाचलमलाई ११–९, १२–१४, ११–८, ११–६, ९–११ र ११–६ तथा स्वार्नेन्दुले बरोडाका नितिनलाई ११–७, ११–८, ११–९, ११–१३ र ११–८ को सेटमा हराए । साविक विजेता अंशुल गर्ग एकेडेमी (एजीए) का आदर्श ओम क्षेत्री क्वाटरफाइनलमै रोकिए ।
महिला सिंगल्सको सेमिफाइनलमा एजीएकी त्रिशा पौलले गाजियाबाद, भारतकी तनिशा मोलानीलाई ११–९, ११–५, ८–११, ११–९ र ११–२ तथा गाजियाबादकी अभानी त्रिपाठीले एजीएकी फिल्जाह फतिमालाई ४–११, १५–१३, २–११, १३–११, ११–९, ७–११ र ११–९ को सेटमा पाखा लगाउदै फाइनल भेट पक्का गरे । यो स्पर्धाकी डिफेन्डिङ च्याम्पियन बरोडाकी ममता प्रभु प्रतियोगितामा सहभागी भएपनि एकलमा खेलिनन् । ममताले टिम इभेन्टमा मात्र प्रतिस्पर्धा गरिन् । त्यसमा ममताको टिमले स्वर्ण हात पार्यो ।