एमेच्योर सुभाष तामाङले सुर्य नेपाल वेस्टर्न अोपनको उपाधि जितेका छन् ।
सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले पहिलो पटक सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् ।
हिमालयन गल्फ कोर्स, पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुभाषले करिअरको दोस्रो टुर इभेन्ट उपाधि जित्ने क्रममा अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २ सय ४ स्कोर जोडे ।
यसअघि उनले सन् २०१९ मा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए ।उनले एमेच्योर र समग्रमा टुरसहित दुई उपाधि उचाले ।
दोस्रो भएका जयरामले तेस्रो दिन ४ ओभर ७२ स्कोरसहित समग्रमा ४ ओभर २ सय ८ स्कोर बनाए । समग्रमा दोस्रो भएका उनले व्यावसायिक खेलाडीतर्फ भने पहिलो हुँदै १ लाख ३५ हजार रुपैयाँ हासिल गरे । समग्रमा तेस्रो स्थान हासिल गर्ने क्रममा धनबहादुरथापा, नीरज तामाङ र रामे मगरले ७ ओभर २ सय ११ स्कोरसहित जनही ६८ हजार ८ सय ३३ रुपैयाँ पाए ।
प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहँदा शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।
सुभाषले उपाधि जित्ने क्रममा फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ को प्रदर्शन गरे। पहिलो दिन २ अन्डर ६६जोडेका उनले पछिल्ला दुवै दिन १ ओभर ६९ स्कोर बनाए । फ्रन्ट नाइनको पहिलो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले नवौं होलमाबर्डी लेखाए । ब्याक नाइनमा १४ औं र १८ औं होलमा बर्डी खेलेका उनले १६ औं मा भने बोगी खेपेका थिए ।
जयरामले फ्रन्ट नाइनमा ३ ओभर ३६ स्कोर जोडेपछि उपाधिबाट टाढा हुनुपरेको थियो । दोस्रो, तेस्रो र छैटौं होलमा बोगी तथा सातौँमाडबल बोगी खेपेका उनले पाँचौँ आठौंमा बर्डी लेखाएका थिए । ब्याक नाइनमा उनले १ ओभर ३६ स्कोर जोडे ।