धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ ।
शनिबार रेल गाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्था जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए । रेल जकनकपुर आइपुगेपछि त्यसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका व्यक्ति पनि चढेर कुर्थासम्म पुग्ने कार्यक्रम छ ।
शनिबार उद्घाटन भएपछि आइतबारदेखि नै तालिका अनुसार नियमित रेल सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् । उनका अनुसार दिनको दुई पटक ओहोरदोहोर गर्ने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काै रेल छुट्ने उनले जानकारी दिए ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्ग निर्माण भएको हो भने त्यसमा सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) भारतबाटै खरिद गरी ल्याएको हो । एउटा रेलमा एक हजार ३५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिए । यात्रुले आफ्नो साथमा साना झोला लैजान पाउने छन् । यी दुवै यात्रुबाहक रेलगाडी हुन् ।
हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ । कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको दुईचार महिनामा रेल सञ्चालन गर्न सकिने विभागका प्रवक्ता चित्रकारले जानकारी दिए । ३५ किमी दूरीमा आठ ठाउँमा रेल रोक्न सकिने छ । एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्काे स्टेशन आउँछ ।
नेपालले खरिद गरेका रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न सकिने खालका भएको प्रवक्ता चित्रकारले बताए । यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा एक सय किमी प्रतिघण्टा रहेको छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए ।
डेढवर्ष पहिले नै रेल आइपुगेका भएपनि विभिन्न समस्याले गर्दा सञ्चालन हुनसकेका थिएनन् । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनीयर रहेको महाप्रबन्धक झाले जानकारी दिए । कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रुपैयाँ भाडादर तोकिएको छ । वातानुकूलित (एसी) कक्षका लागि भने त्यसको पाँच गुणा बढी अर्थात् रु ४५० तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वत भाडादर त्योभन्दा कम हुनेछ ।
जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक डेढवर्ष पछिदेखि काम सुरु भएको थियो । भारत सरकारसँग सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीमध्ये जयनगर-कुर्था र विराटनगर-जोगबनीबाहेक अरू तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएका अरू तीन रेलमार्गमा जलपाइगुडी-काकडभिट्टा, नौतनवा-भैरहवा र नेपालगञ्जरोड-नेपालगञ्ज छन् ।
नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा सञ्चालन गरिएको थियो । वि.सं. २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन । रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो । जयनगर-कुर्था-बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत रु पाँच अर्ब भारु रहेको छ । नेपाल सरकारले खरिद गरेको रेलगाडीको मूल्य रु एक अर्ब रहेको छ । विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ ।