नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गर्दैछन् ।
देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने भएका हुन् ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका छन् ।
उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने भएका छन् ।
तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल बनाएका छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने प्रसाइँले बताएका छन् ।
सीमित जनसंख्याको आवश्यकता पूरा गर्न झण्डै तीन दशकअघि जापानले काठमाडौंको कालीमाटीमा बनाइदिएको तरकारी बजारले मात्रै माग धान्न नसकेको अवस्थालाई प्रसाईँले मौकाको रुपमा उपयोग गर्न लागेका हुन् ।
कालीमाटीबाहेक बालाजुमा पनि सरकारी तरकारी बजार छ भने बल्खु लगायत केही ठाउँमा निजी तरकारी बजार सञ्चालनमा छन् ।
विगतमा एमाले र माओवादी एकता केन्द्रबीचको एकताअघि प्रसाईँले केपी ओली र प्रचण्डलाई मार्सीको भात खुवाएर चर्चा बटुलेका थिए । मार्सी चामलको माग पनि त्यसपछि उकालिएको थियो ।
प्रसाईँको तरकारी बजारको लगानी शुरुमा ३२ करोड रुपैयाँ भनेर प्रचार गरिएकोमा हाल दुई अर्ब रुपैयाँ भनेर प्रचार गराइएको छ ।