नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको आरोप लगाएका छन् ।
आफ्नो नेतृत्वको सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला सरकार नै परिवर्तन भएको दावी गरे । आफूलाई हटाएर बनेको गठबन्धन सरकारले आयोग नै खारेज गरेर भूमिहीनलाई बेघर बनाएको ओलीको भनाइ छ । गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको आरोप लगाएको पनि उनले दावी गरे ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शङ्करनगर वन वाटिकामा निर्माण भएको बहुउद्देश्यीय भ्यु-टावरको मङ्गलबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । ‘आयोग खारेज गरेर पुर्जा वितरणको लागि मैले ठिक्क पारेको फाइल यो सरकारले लुकाएको छ,’ उनले भने । लुकाइएको फाइल खोज्न प्रधानमन्त्री देउवा दिल्ली जान लागेको भन्दै उनले व्यङ्ग्य कसेका थिए । ‘अहिले उहाँहरू अघिल्लो सरकारले फाइल लुकाएको भन्दै हिँड्नु भएको छ, अब प्रधानमन्त्री देउवा फाइल खोज्न दिल्ली जाँदै हुनुहुन्छ,’ उनले भने ।
गएको चुनावपछि आफ्नो नेतृत्वमा बनेको सरकारले अन्तरिक्षमा आफ्नो स्पेस र समुन्द्रमा नेपालको अधिकारसमेत स्थापित गर्न सफल भएको दावी ओलीले गरे ।
मङ्गलबार उद्घाटन गरिएको बहुउद्देश्यीय भ्यु-टावर ठीक चार वर्ष अघि अर्थात् २०७४ साल चैत १५ गते शिलान्यास गरिएको थियो । शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा बनेको उक्त भ्यू-टावर १० तलाको छ, जसको उचाइ १३४ फिट रहेको छ ।
तिलोत्तमा नगरपालिकाले यो भ्यु-टावर, भ्यु-टावर मात्र नभई बहुउद्देश्यीय भवनको रूपमा निर्माण गरिएको दावी गरेको छ । तिलोत्तमा नगरपालिका र शङ्करनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको टावरमा पहिलोदेखि छैठौँ तलासम्म व्यावसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् । सातौँ तलादेखि मात्रै दृश्यावलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ ।
साढे ११ करोड रुपैयाँभन्दा बढी लागत परेको भ्यु-टावर निर्माणमा ७० प्रतिशत खर्च तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत खर्च शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेका छन् ।
कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्यु-टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा तथा पुस्तकालयलगायतका संरचना रहेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए । भ्यु टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिन्छ भने दुरबिनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिन्छ ।
लिफ्ट सुविधासहित बनेको भ्यु-टावरसँगै दुई बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू समेत निर्माण भइरहेका छन् । भ्यु टावरको उत्तरतर्फ स्वीमिङ पुल र अगाडि म्युजिकल फाउन्टेन निर्माण भइरहेको छ । यस्तै बालबालिकाको लागि खेल मैदान र स्टेडियम निर्माण कार्य पनि सुरु भइसकेको छ ।