भारतको हरियाणा स्पोर्टस् क्लबले आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो ।
लिग चरणमा पनि हरियाणाले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
यस अघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।तेस्रो भएको आर्मीले १ लाख रुपैया प्राप्त गरेको छ । चौथो भएको डायमन्डले ५० हजार रुपैया प्राप्त गरेको छ ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ विजयी बनेका थिए । यस संस्करणमा एपीएफले भाग लिएको छैन ।
१० चैतबाट शुरु भएको प्रतियोगितामा नेपालका ४ र भारतका दुई सहित ६ टोलीको सहभागिता रहेको थियो ।