त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट शृङ्खला अन्तर्गतको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) सामु नेपालले १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८३ रनको योगफल तयार गरेको हो ।
नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । उनले ३५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । स्कोर बोर्डमा २५ रन जोड्दा कुशललाई पहिलो विकेटका रुपमा गुमाए पनि त्यसपछि आशिफ र रोहितकुमार पौडेलले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । रोहितले २६ बलमा दुई चौका र एक छक्कासहित ३४ रन बनाए ।
त्यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल ११ बलमा तीन चौका र एक छक्कासहित २० रन बनाएर आउट भएका थिए ।
टोलीको खातामा करण केसीले दुई छक्कासहित १४ रन थप्दा आरिफ शेखले २२ बलमा एक चौका र दुई छक्कासहित ३१ रन र कुशल मल्लले ६ बलमा एक चौका र एक छक्कासहित ११ रन बनाए ।
यसबाहेक, लोकेश बम पाँच, दीपेन्द्रसिंह ऐरी चार र सोमपाल कामीले एक रन जोड्दा कप्तान सन्दीप लामिछाने एक र अविनास बोहरा शून्य रनमा अविजित रहे ।
पीएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स एमिनीले समान दुई विकेट लिँदा नोर्मान भानुआ र रिले हाकुरेले एक एक विकेट हात पारे ।
ट्वान्टी २० शृङ्खलामा नेपाल, पीएनजी र मलेसिया सहभागी छन् । ट्वान्टी २० शृङ्खलाअघि खेलिएको दुई खेलको एकदिवसीय शृङ्खलामा नेपाल पीएनजीसँग २-० ले पराजित भएको थियो ।