भारतमा सोमबार र मङ्गलबार बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो । बन्दलाई अखिल भारतीय बैङ्क कर्मचारी सङ्घले समर्थन गरेको छ ।
मजदुर, किसान र सर्वसाधारणलाई असर गर्ने सरकारी नीतिहरूको विरोध गर्न केन्द्रीय ट्रेड युनियनहरूको संयुक्त फोरमले देशव्यापी हड्ताल आह्वान गरेको हो । बन्दमा सडक, ट्रान्सपोर्ट, बैङ्किङ, रेलवे तथा विद्युत क्षेत्रमा काम गर्ने मजदुरले पनि साथ दिएको बताइएको छ ।
सार्वजनिक क्षेत्रका बैङ्कहरूलाई निजीकरण गर्ने सरकारको योजना र बैङ्किङ कानून संशोधन विधेयक २०२१ को विरोधमा उत्रिएका बैङ्किङ युनियनहरु पनि हड्तालमा सहभागी छन् । भारतीय स्टेट बैङ्कलगायत धेरै बैङ्कहरूले सोमबार र मङ्गलबार बैङ्किङ सेवाहरू प्रभावित हुनसक्ने ग्राहकहरूलाई जानकारी गराउँदै विज्ञप्ति जारी गरेका छन् ।
बैङ्कबाहेक हडतालमा स्टिल, तेल, दूरसञ्चार, कोइला, हुलाक, आयकर, तामा, बिमालगायतका अन्य क्षेत्रका श्रमिक सहभागी हुने अनुमान गरिएको छ । बन्दमा २० करोड मजदुरको ऐक्यबद्धता छ । रेलवे र रक्षा क्षेत्रका युनियनहरूले सयाैँ स्थानहरूमा हडतालको समर्थनमा ठूलो र्याली निकाल्ने अनुमान गरिएको छ ।
ऊर्जा मन्त्रालयले आज सबै राज्यसञ्चालित संस्थाहरु तथा अन्य निकायहरूलाई उच्च सतर्कतामा रहन र चौबीसै घण्टा विद्युत् आपूर्ति र राष्ट्रिय ग्रिडको स्थिरता सुनिश्चित गर्न सुझाव दिएको छ । अस्पताल, रक्षा, र रेलवे जस्ता अत्यावश्यक सेवाहरूमा संलग्नहरूलाई बिजुली आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले एउटा एडभाइजरीमा भनेको छ ।
पश्चिम बङ्गाल सरकारले राज्यका सबै सरकारी कार्यालयहरू खुला रहने भन्दै सोमबार र मङ्गलबार कर्मचारीहरूलाई ड्युटीमा उपस्थित हुन अनिवार्य गरेको छ ।