आगामी बैशाख ३० का लागि घोषित स्थानीय तह निर्वाचन सञ्चालन गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश र न्याय सेवाका उपसचिवहरुलाई नियुक्त गरेको छ । जिल्ला न्यायाधीशहरुलाई ७७ वटा जिल्लामा मुख्य निर्वाचन अधिकृत र उपसचिव तहका कर्मचारीलाई ६ सय ७६ वटा पालिकाको निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।
नियुक्त ७ सय ५३ जना न्यायिक अधिकारीहरुको नामावली सहितको विवरण आजको गोरखापत्रको पृष्ठ ७ देखि ११ सम्म गरी ५ पृष्ठमा भरिभराउ छापिएको छ । देशमा ७ सय ५३ पालिका रहेकामध्ये जिल्ला सदरमुकाम रहेका पालिकाहरुमा मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला न्यायाधीशले नै हेर्ने गरी तोकिएको छ ।
सदरमुकाम रहेका जिल्लामध्ये हुम्ला, मनाङ, मुस्ताङ, रसुवा, प्युठान, रुकुम पूर्व जिल्लाका सदरमुकाममा गाउँपालिका रहेका छन् । बाँकी ७१ जिल्लामध्ये ६ वटामा महानगरपालिका, ११ वटामा उपमहानगरपालिका छन् । देशमा नगरपालिकाको संख्या २ सय ७६ र गाउँपालिकाको संख्या ४ सय ६० रहेको छ । ती सबै पालिकामा बैशाख ३० मा एकै चरणमा निर्वाचन गराउने तयारी आयोगले गरिरहेको छ ।
यही चैत २९ गतेदेखि लागू हुने गरी प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा उनीहरुलाई नियुक्त गरिएको आयोगले उल्लेख गरेको छ । काम शुरु गर्नुअघि उनीहरुलाई अभिमुखीकरण तालिममा पठाइदिन पनि सम्बन्धित निकायहरुलाई निर्वाचन आयोगले भनेको छ ।
नियुक्त अधिकारीहरुमा न्याय सेवाका तीनवटै समूह- न्याय समूह, कानून समूह र सरकारी वकिल समूहका उपसचिव स्तरका कर्मचारी खटाइएको छ । विगतदेखि नै जिल्ला न्यायाधीश र भविष्यमा न्यायाधीश हुन सक्ने अधिकृतहरुलाई निर्वाचनमा खटाउने प्रचलन रहिआएको छ ।