परराष्ट्रमन्त्री डा नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन् । बिमस्टेकको चैत १६ गते हुने पाँचौं शिखर सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी श्रीलंका जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनु्सार परराष्ट्रमन्त्री खड्का चैत १४ गते काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । चैत १५ गते कोलम्बोमा हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा उनी सहभागी हुनेछन् ।
बिमस्टेकको साइडलाइनमा उनले अन्य देशका विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्रले जनाएको छ । उनी चैत १७ गते स्वदेश फर्कनेछन् ।
प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने भएका छन् ।
श्रीलंकामा आयोजना हुने सम्मेलनलाई उनले काठमाडौंबाट भर्चुअलरुपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा केही दिन अघिसम्म श्रीलंका जाने तयारीमा थिए । अचानक उनको भारत भ्रमण तय भएपछि श्रीलंकामा हुने बिमस्टेक सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्ने भएका हुन् ।
बिमस्टेक शिखर सम्मेलनमा प्रत्यक्ष तथा भर्चुअली सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, मुख्यसचिव शंकर दास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत छन् ।