सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा नेपालको सीमा मिचिएको विषयमा प्रमाणसहित लेखिएको पुस्तक ‘हिस्टोरिकल बाउन्ड्री म्याप्स अफ नेपाल’ को आज राजधानीमा एक समारोहका बीच विमोचन गरिएको छ ।
गोरखा एक्सप्रेस साप्ताहिकको आयोजनामा साहित्यकार तुलसी दिवस, उक्त साप्ताहिकका सम्पादक राजन कार्की, राजनीतिक विष्लेषक सुरेन्द्र केसी र लेखक तथा अन्वेशक डा प्रेमसिंह बस्नेतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे। लेखक तथा सीमाविद् श्रेष्ठले उक्त पुस्तक भारतले नेपालको सीमा क्षेत्र मिचेको प्रमाणसहितको दस्तावेज भएको जानकारी दिए। “यो पुस्तकमा दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा सोह्रैआना नेपालको हो भन्ने ९० वटा नक्सासहितको प्रमाण पेश गरेको छु ।” श्रेष्ठले बताए ।
पुस्तकमा लिम्पियाधुरा शिर भएर बग्ने काली नै सीमाना हो भन्ने कुरा तत्थहरूबाट स्पष्ट हुने र भारतले सन् १९६२ मा चीनसँगको युद्धका बेला ओगटेको र सोही समयदेखि अहिलेसम्म नछाडेको उनले बताए । सो क्षेत्रमा ३७२ वर्ग किलोमिटर नेपालको भूभाग मिचिएको छ । नेपालको सबैभन्दा बढी क्षेत्रफल मिचिएको र पेचिलो बनेको विषय यही हो गत वर्ष सरकारले सो भूभाग समेटेर नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको थियो ।
यस्तै अर्को सीमा विवाद नवलपरासीको सुस्तामा छ । त्यहाँ १४५ वर्ष किलोमिटर नेपालको भूभाग मिचिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठले यी दुई ठाउँँसहित नेपालका ७१ स्थानमा भारतसँगको सीमा विवाद रहेको र चीनसँग पनि यदाकदा विवाद आएको बताए । उनले यस समस्याको समाधानको अचुक उपाए भनेको छलफलद्वारा निकास निकाल्ने नै हो भने । नेपाल सरकारले अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब दिनुपर्नेमा उनको जोड थियो । यही पुस्तकको आधारमा भारतसँग वार्ता गर्ने हो भने भारतीय सेना हटाउन सकिने लेखक श्रेष्ठको दाबी छ । उनले वार्ताबाट नमिले तेस्रो पक्षको मध्यस्थता स्वीकार गर्नुपर्ने नभए संयुक्त राष्ट्र सङ्घ या अन्तर्राष्ट्रिय अदालतबाट छिनोफानो गर्नुपर्ने कुरा पुस्तकमार्फ सुझाएको बताए।
लेखक तथा अन्वेशक डा प्रेमसिंह वस्नेतले एमसिसीका कारण नेपालको सीमा क्षेत्रको अतिक्रमण ओझेलमा परेको भन्दै मौसमी विरोधको अवस्थाले नेपाल कमजोर बनेको बताए। उनले भारतीय सेनाका अधिकारीहरू नेपालको मानार्थ उपाधि लिएर पनि सीमाको विषयमा भारतको वकालत गरिरहेका तर नेपाली सेनाले आफ्नो पक्षबाट सीमाको विषयमा नबोल्नु विडम्बना भएको बताए । उनले श्रेष्ठको पुस्तकमा नेपाल सरकारका लागि एउटा गीता भएको उल्लेख गर्दै पढ्दै गर्दा छिमेकी राष्ट्रले सबै क्षेत्रमा सीमा मिचेकै हो भन्न प्रमाणित हुने गरी लेखिएको बताए।
नेपालको सीमा क्षेत्र चीनसँग जोसिडएको एक हजार ४३९ किलोमिटर लामो छ भने भारतसँग एक हजार ८८० किलोमिटर लामो रहेको छ ।