वाम गठबन्धनको चर्चा चलिरहेकै बेला एमाले र माओवादी केन्द्रका वरिष्ठ नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधुप बढेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको छ ।
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेता गुरुङ चीन गएको उनकी पत्नी तथा सांसद यशोदा सुवेदी गुरुङले बताइन् । ‘एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ चीन जानु भएको हो, सोमबार फर्कने भन्नुभएको छ,’ उनले भनिन् । आफू पोखरामा रहेकाले अन्तर्राष्ट्रिय सम्मेलनबारे थप जानकारी नभएको उनले बताइन् ।
शुक्रबार बिहान ९ बजे माओवादी नेताहरू वर्षमान पुन, ओनसरी घर्तीमगर तथा देवप्रसाद गुरुङ चीन प्रस्थान गरेका छन् । ‘जन्डिसको बिरामी उपचारको फलोअपका लागि उहाँहरू जानुभएको हो, सम्भवतः आइतबार/सोमबार फर्कनु हुन्छ,’ पुनका स्वकिय सचिव सन्तोष पुनले भने ।
एमाले उपाध्यक्ष पौडेल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र प्रदेश सांसद मीनासिंह रखाल चीनमा छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ मा भाग लिन एमाले टोली चीन गएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा जान सक्ने सङ्केत गरेको तथा एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न विकल्प खुल्ला राखेको सन्दर्भमा एमाले र माओवादी केन्द्रका नेताहरू एकैपटक चीन जाने घटनलाई राजनीतिक विश्लेषकहरूले अर्थपूर्ण रूपमा लिएका छन् ।