२०७६ माघअघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाभाइरसको महामारी देखिएपछि करिब ६ महिना बन्द गरेर त्यसपछि एकतर्फी नाका सञ्चालन गरेको चीनले अहिले रसुवागढीसम्म आफनै गाडीमा सामान ल्याइदिने गरेको छ । त्यो पनि दैनिक कोटा तोकेर ।
सामान ढुवानी गर्ने नेपाली कन्टेनरहरू दैनिक दुई सयभन्दा बढी आवतजावत हुने गरेको नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् । सहज रूपमा नाका सञ्चालन नहुँदा कन्टेनर व्यवसायीहरू मारमा परेको कन्टेनर व्यवसायी रोहित तामाङले बताए । ‘पहिला नाका सहज हुँदा सिधै रसुवागढी हुँदै चीनको केरुङसम्मै गाडी लिएर पुग्थ्यौँ, दुई वर्ष हुन लाग्यो नाका चल्न सकेको छैन, बैङ्कको किस्ता पनि तिर्न नसक्ने अवस्था छ, ऋण खोजेर तिर्नुपरेको छ,’ उनले भने, ‘अहिले त ड्राइभरलाई तलब दिन नसक्ने अवस्था छ, किस्ता तिर्न नसकेकाले धेरै गाडीहरू बैङ्कले तानेको छ ।’
रसुवागढी नाका सञ्चालनमा आएपछि करिब १५ सय कन्टेनर चल्ने गरेका थिए । तर अहिले भने करिब सात सय कन्टेनरले मात्र सामान ढुवानी गर्ने गरेका छन् । सामान ढुवानीका लागि लामो समय कुर्नुपर्ने, दुई महिनामा बल्ल बल्ल पालो आउनेलगायतका कारण कन्टेनर व्यवसायमा आश्रित रहेर व्यवसाय गरिरहेकाहरूको व्यवसाय नै प्रभावित भएको अर्का कन्टेनर व्यवसायी छेवाङ सेनाम तामाङले बताए । ‘कन्टेनरको नाम मात्र हो, अहिले न त परिवार पाल्न सकिएकाे छ न त बैङ्कको किस्ता तिर्न । बिजाेग भयो,’ उनले भने, बल्ल तल्ल एक टिप लाग्छ पहिला १२ हजारले सबै पुग्ने ठाउँमा अहिले १७-१८ हजार त डिजेल नै लाग्छ, पहिला जिल्लाको ४-५ सय गाडी थियो, अहिले त सयवटा पनि छैन होला, किस्ता तिर्न नसक्दा कोही कता पुगे पुगे, सबै सक्कियो ।’
चीनले रसुवागढी नाकालाई प्राथमिकता दिएसँगै प्रायः व्यवसायीले बैङ्कबाट ऋण लिएर कन्टेनर व्यवसायमा लगाएका थिए । एउटा कन्टेनर खरिदका लागि लिएको ऋणको मासिक ६० हजार त किस्ता नै तिर्न पर्छ । व्यवसाय सञ्चालन नहुँदा आम्दानी शून्य रहेको छ । व्यवसाय सञ्चालन नभएपछि अधिकांश व्यवसायीले करिब दुई वर्षदेखिको बैङ्कको किस्ता तिर्न सकेका छैनन् । तर बैंकले किस्ता तिर्न आउन ताकेता गरिरहेको गोसाइँकुण्ड गाउँपालिका-५ का कन्टेनर व्यवसायी मिलन तामाङले बताए । ‘२६ लाख बैङ्कबाट लोन लिएको थिएँ, लकडाउन नभएको भए त पोहोरकै वैशाखतिर तिरिसकिन्थ्यो, लकडाउनमा व्यवसाय चल्न सकेन,’ उनले भने, ‘बैङ्कको किस्ता बढेको बढ्यै छ, व्याज पनि सावामा जोडिँदै गएको छ, बैङ्कले फोन गरेको गर्यै गर्छ, फोन अफ गरेर बस्नुपर्ने अवस्था आएको छ ।’
कन्टेनर बेचेरै भए पनि बैङ्कको किस्ता तिरेको अर्का कन्टेनर व्यवसायी फुर्पा तामाङले बताए । ‘मेरो दुईवटा कन्टेनर थियो, समयमा बैङ्कको किस्ता तिर्न सकिनँ, अनि दुईवटामा एउटा कन्टेनर बेचेर बैङ्कको किस्ता तिरेँ,’ उनले भने, ‘बैङ्कले व्याज पनि बढाउँदै जाने रहेछ, एक वर्षमा ६ लाख किस्ता ड्युको नाै लाखसम्म पुगेको छ, अब पनि नाका नचल्ने र व्यवसाय चलेन भने त भएको यो कन्टेनर पनि बेच्नुपर्ने अवस्था हुन्छ।’ कन्टेनर व्यवसायबाटै जीविकोपार्जन गर्दै आएका व्यवसायीहरू नियमित व्यवसाय सञ्चालन नहुँदा विस्थापित भएका छन् ।