नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ नहुने जानकारी दिएका छन् । पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् ।
‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’
भारतमा ऊर्जा सङ्कट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महङ्गोमा खरिद गरेर भएपनि नियमित विद्युत् दिने बताए । भारतमा ऊर्जा सङ्कट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरेको प्राधिकरणले बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत् दिने बताएको हो ।
असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्यात गर्न सक्ने अवस्था रहेको भन्दै उनले अहिले देखिएको समस्या तत्कालका लागि मात्र रहेको बताए । यस्तो समस्या सधैँ नदेखिने भन्दै उनले लोडसेडिङ हुन्छ कि भनेर सन्देह नगर्न आग्रह गरे ।
‘आज रातिबाट भारतबाट नै फरक मूल्यमा विद्युत आयात गर्छाैं,’ , ‘भारतबाट आयात गरेर हामी उद्योगलाई विद्युत् दिन्छौँ ।’प्रवक्ता सुरेशबहादुर भट्टराईले भने।
अहिले रुसले युक्रेनमाथि गरेको आक्रमणको प्रभावले गर्दा पेट्रोलियम पदार्थ र कोइलाको आपूर्तिमा कमी आउँदा भारतको विहारबाट खरिद गर्ने विद्युत निकै महङ्गिएको र प्रति युनिट ३८ रुपियाँसम्म तिरेर भएपनि नेपाल विद्युत प्राधिकरणले नेपालमा विद्युत आपूर्ति सुनिश्चित गर्न लागेको उनले बताए ।