एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रूपमा ६ वटा मापदण्ड तय गरेको छ ।कार्की ब्याङ्क्वेट काठमाडौँमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो ।
जसअनुसार स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरूको हकमाा कामको मुल्याङ्कनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता हुनुपर्ने र सुशासन र विकाससम्बन्धी सोच भएको हुनु पर्ने भनिएको छ ।
सो सैद्धान्तिक मापदण्ड भित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेले सन्तुलन र समावेसी प्रतिनिधित्व गराउन सक्ने गरी उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनेबारे छलफल गरिरहेको छ ।
यसरी सिफारिस भएकामध्ये महानगरका प्रमुख/उपप्रमुखका उम्मेदवार भने पार्टी केन्द्रले नै चयन गरी नाम निर्धारण गर्नेछ । ‘सम्बन्धित पालिका कमिटी तथा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले महानगरका प्रमुख र उपप्रमुख चयन गरी उम्मेदवार खडा गर्नेछ,’ एक केन्द्रिय सदस्यले भने ।
उनका अनुसार उपमहानगरपालिका वा नगरपालिकाहरूको नगरप्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको चयन पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने छ ।
उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार चयनका बारेमा निर्णय गर्ने अधिकार भने एमालेले जिल्ला कमिटीलाई प्रदान गर्ने भएको छ ।
‘केन्द्रले आवश्यक ठानेमा कुनै पनि निर्णयमा पुनर्विचार गर्न सक्ने,’ अध्यक्ष ओलीले बैठकमा जानकारी गराइसकेका छन् ।