आज नेपालसहित विश्वभरि नै ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ । सन् १८८२ देखि हरेक वर्ष मार्च २४ मा क्षयराेग नामक प्राणघातक राेग विरुद्ध सचेतनाका लागि विश्वभर क्षयराेग दिवस मनाइदै आइएकाे हाे ।
नेपालमा अझै पनि ४० हजारभन्दा बढी क्षयरोगका बिरामी उपचारबाट वञ्चित रहेकाे तथ्याङ्क ‘विश्व क्षयरोग दिवस, २०२२’ को अवसरमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकामा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएकाे र बाँकी बिरामी उपचारको पहुँचबाट बाहिर रहेको जनाइएको छ । तथ्याङ्कमा केही कुरा आए पनि धेरै ‘केस’ पत्ता लाग्न नसकेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।
“जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै आएका छैनन्”, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले भने, “ती बिरामीलाई सम्पर्कमा ल्याएर उपचार गर्नु चुनौती रहेको छ ।”
“कोभिडले भन्दा हरेक वर्ष नेपालमा क्षयरोगले १७ हजार मान्छे मरिरहेका छन्”, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले उल्लेख गरे, “यसमा सबैका साझा प्रयास र सहयोग आवश्यक छ ।” त्यसैले ‘विश्व क्षयरोग दिवस, २०२२’ को नारा पनि ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने राखिएको उनले बताए ।
सरकारले औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । प्रत्येक स्थानीय तहलाई क्षयरोगमुक्त गर्दै सरकारले क्षयरोग निवारणका लक्ष्य हासिल गर्नका लागि यसै आवदेखि २५ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तहलाई नेपाल क्षयरोग मुक्त घोषणा अभियानमा सहभागिता गराई नेपाललाई चाँडै नै क्षयरोग मुक्त घोषणा गर्नुपर्नेमा जोड दिइएकाे छ ।