विक्रम संवत् अनुसार आज २०७८ सालको साउन महिना लागेको छ। प्रत्येक महिना एउटा राशिका दरले वर्षदिनका १२ महिनामा सूर्यले क्रमैसँग १२ ओटा राशिको भोग गर्दछ। साउन महिनाभर सूर्य कर्कट राशिमा रहन्छ। अर्थात् सूर्यले मिथुन राशिको भोग सकेर आजैको दिन कर्कट राशिमा प्रवेश गरेको छ। त्यसैले आजको दिनलाई साउने सङ्क्रान्ति वा कर्कट सङ्क्रान्ति पनि भनिन्छ।
नेपाली संस्कृतिमा साउने सङ्क्रान्तिको विशेष महत्व छ। वैज्ञानिक हिसावले सबैभन्दा लामो दिन २१ जुन अर्थात् असार ७ गते हुँदा त्यसको भोलिपल्टदेखि सूर्य दक्षिणायन हुन्छन् भनेर मान्नु पर्ने हुन्छ। तर सूर्यलाई दक्षिणायन र उत्तरायण भनेर मान्ने नेपालीहरूको छुट्टै परम्परा छ। साउनदेखि पुससम्मका ६ महिना दक्षिणायन र माघदेखि असारसम्मका ६ महिनालाई उत्तरायण भनेर मानिन्छ। त्यसैले नेपालका विभिन्न समुदायले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई विशेष सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएका छन्।
साउने सङ्क्रान्तिको दिन स्नान, दान, आदि गर्ने र साँझमा पूजागरी कण्डारक नामक राक्षसलाई पन्छाउने विधान छ। पूजासहित कण्डारकलाई शान्त गरेपछि शरीरमा उत्पन्न हुने लुतो, पिलो, खटिरापटिरा आदि छालाजन्य व्याधिबाट मुक्ति पाइन्छ भन्ने परम्परागत जनविश्वास छ। यसैले घरको मूलढोका थुनी आँगनमा कण्डारकको पूजा गरेर त्यहाँ बालिएका दाउरालाई "लुतो, पिलो, खटिरापटिरा लैजा हो … …!" भन्दै घरभन्दा पर पुग्नेगरी घरका सबैजनाले एकएक गरी फाल्ने चलन छ। लुतो फालिसकेपछि मिठोमसिनो र त्यसमा पनि खासगरी अनदीको लट्टे (चाम्रे) खाने र तिउरी फूलको पात पिंधेर हातगोडाका साथै नङमा बाँधेर सुत्ने प्रचलन हो। तिउरीको पातले छाला र नङलाई लामो समयसम्म रहनेगरी रङ्गीन बनाइदिन्छ। आजकल तिउरीको ठाउँ मेहन्दीले लिइसकेको छ। त्यसो त आधुनिक जीवनशैलीमा परम्परादेखि चलिआएका अनेकन सांस्कृतिक अभ्यासहरू हराउँदै गएका छन्।
कर्णाली प्रदेशमा त साउने सङ्क्रान्ति पर्व मनाउन प्रदेश सरकारले आज सार्वजनिक विदा नै दिएको छ।
साउने सङ्क्रान्तिले शिवभक्तहरूमा नयाँ उत्साह भरिदिन्छ। हिन्दूहरू साउन महिनालाई भगवान् शिवको प्रिय महिनाका रूपमा लिन्छन्। यसैले यो महिनाभर स्नान, दान आदि गर्ने, शिवजीका मन्दिरमा गई दर्शन गर्ने, रूद्री लगाउने जस्ता कार्य गर्छन्। अझ साउन महिनाको सोमवार त विशेष हुन्छ। साउने सोमबार श्रद्धालुहरू व्रत बस्ने र शिवको पूजा गर्ने गर्छन्। शिवजीका मन्दिरहरूमा दर्शनार्थीहरूको घुइँचो नै लाग्ने गर्छ। यस वर्ष भने कोभिड-१९ ले गर्दा मन्दिरहरूमा मानिसहरूको जमघट निषिद्ध छ।
साउने सङ्क्रान्तिले वोलवम तीर्थयात्रीहरूको पनि तीर्थयात्रा शुरु भएको छ। उनीहरू साउन महिनामा विभिन्न तीर्थमा गई त्यहाँको जल लिएर शिवधामहरूमा लगेर चढाउने गर्छन्।
यति मात्रै होइन राष्ट्रकै हिसावमा पनि साउने सङ्क्रान्तिको विशेष महत्व छ। आजकै दिन राष्ट्रको नयाँ आर्थिक वर्ष शुरु हुन्छ। नयाँ बजेट यसैदिनदेखि लागू हुन्छ। नयाँ बजेट अनुसारका नयाँ योजनाहरूको कार्यान्वयन तथा नयाँनयाँ नीति कार्यक्रमहरूका साथ देश अघि बढ्छ।