नेपालमा डिजेल, पेट्रोल र एलपीजी आयातको खर्च मुलुकले धान्नै नसक्ने गरी बढेको छ । चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा झण्डै दोब्बर रकम डिजेल, पेट्रोल र एलपीजी आयातमा खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको आठ महिनामा जति रकमको डिजेट, पेट्रोल र एलपीजी नेपाल भित्रिएको थियो यस वर्षको सोही अवधिमा त्यति रकम बराबरको त जिडेल मात्रै नेपाल भित्रिएको देखिन्छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा भारतबाट कुल एक खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी नेपालले आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भारतबाट नेपालमा ८७ अर्ब ७१ करोड ४७ लाख ३७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी नेपाल भित्रिएको थियो । अघिल्लो आर्थिक वर्षको आठ महिनाको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा खर्च भएको रकम ८० अर्ब ६१ करोड ९० लाख ८८ हजार रुपैयाँले बढी हो ।
चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालमा सबैभन्दा बढी डिजेल भित्रिएको छ । सो अवधिमा ८७ अर्ब ८३ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेट नेपाल भित्रिएको छ ।
सोही अवधिमा भारतबाट ४० अर्ब ६४ करोड १४ लाख ५८ हजार रुपैयाँको एलपीजी नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
चालु आर्थिक वर्ष सुरु भएपछि फागुन मसान्तसम्म नेपालले भारतबाट ३९ अर्ब ८५ करोड ६९ लाख ०५ हजार रुपैयाँको पट्रोल खरिद गरी ल्याएको छ ।
यसलाई अर्को तर्फबाट हेर्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ भरीमा जति रकमको डिजेल, पेट्रोल र एलपीजी नेपालमा भित्रिएको थियो त्योभन्दा बढी रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नै नेपाल भित्रिइसकेको छ ।
विभागका अनुसार गत आर्थिक वर्षमा एक खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको थियो ।