नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पछिल्ला निर्णयहरूप्रति असन्तुष्ट मातृकाप्रसाद यादवले पार्टीमा लिखित असन्तुष्टि व्यक्त गर्नुका साथै पार्टीका कार्यक्रमसमेत बहिष्कार गर्न थालेका छन् ।
अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), मधेसको साङ्गठनिक संरचनादेखि नेतृत्वले लिएको पछिल्ला नीतिप्रति असन्तुष्टी जनाउँदै यादवले माओवादी केन्द्रीय कार्यालयमा लिखित उजुरी दिएका हुन् । सो उजुरी सम्बोधन नभएको भन्दै यादवले जनकपुरमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रम पनि बहिस्कार गरेका छन् ।
‘मैले हेडक्वाटरमा समसामयिक राजनीतिक विषयदेखि मधेस प्रदेशको समस्या सम्बोधनका लागि भनेर उजुरी दिएको छु,’ यादवले भने, ‘त्यो उजुरीको सम्बोधन नभएसम्म मेरो पार्टीलाई आवश्यकता पनि छैन, आवश्यक नै नभएपछि बैठक र प्रशिक्षणमा जाने कुरा पनि हुन्न ।’ केन्द्रीय कमिटी बैठकपछि दिएको लिखित उजुरीलाई अध्यक्ष प्रचण्डले अझै सम्बोधन नगरेको र सो सम्बोधनको प्रतीक्षामा आफू रहेको यादवले बताए ।
मधेस प्रदेशमा पूर्वमाओवादी र जनमोर्चा समूहबीच सत्ता सङ्घर्ष जारी रहेको बखतमा सन्देश दिने गरी यादवले मङ्गलबार बैठक बहिष्कार गरेका थिए । सहिद रामवृक्ष यादवको शालिक प्रकरण, मधेस प्रदेश सदस्य चयन, पदाधिकारीलगायतका विषयमा यादवले अध्यक्ष प्रचण्डसँग असन्तुष्टि जाहेर गर्दै आएका छन् ।
पूर्वजनमोर्चा समूहका गिरिराजमणि पोखरेल, विश्वनाथ साहलगायतलाई बढी भूमिका दिएको तर जनयुद्धकालीन कार्यकर्तालाई भने किनारा लगाएको भन्दै युद्धकालीन माओवादी कार्यकर्ता असन्तुष्ट रहेकाबेला यादवले प्रशिक्षण बहिष्कार गरेका हुन् । प्रदेश कमिटी गठन गर्न पनि झन्डै एक साता लगाएको माओवादीले मधेस प्रदेशमा नेतृत्व चयन गर्न अझै सकेको छैन ।
‘अध्यक्षसँग मेरा असन्तुष्टि कायमै छन् तर हिजोको कार्यक्रममा उहाँ आउँदा स्वागत र बिदाइ दुवै गर्न गएँ, मात्र प्रशिक्षण कार्यक्रममा उपस्थित नभएको हो,’ यादवले भने, ‘अरू जिम्मेवारी साथीहरू हुनुहुन्थ्यो, त्यसैले मेरो त्यहाँ आवश्यकता नै थिएन, अनि प्रशिक्षणस्थलमा नबसेको हुँ ।’ यादवका अनुसार आफ्नो माग सम्बोधन नभएसम्म पार्टीको आन्तरिक कार्यक्रम र सगठन निमार्णजस्ता कार्यमा बहिष्कार र अनुपस्थिति दुवै रहिरहनेछ ।