धान्नै नसक्ने गरी इन्धनमा मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले आफैँ गाडी भाडा बढाएका छन् । चैत १५ गतेदेखि लागू हुने गरी पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिले आफू मातहतका गाडी भाडा बढाएको हो । लगातार बढेको इन्धनको मूल्य अनुसार सार्वजनिक यातायातको भाडा बढाउन सरकार उदासीन बनेको भन्दै व्यवसायी आफैँले भाडा बढाएका हुन् ।
यातायात व्यवस्था कार्यालय गण्डकी र जिल्ला प्रहरी कार्यालय कास्कीलाई बोधार्थ दिएर कम्पनीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र दिएको छ । सरकारले यातायात व्यवसायी समितिलाई कम्पनी ऐन अनुसार रूपान्तरण गरेपनि कार्यविधि र ऐन कानुनको निर्माण नहुँदा कठिनाइ झेल्नुपरेको अध्यक्ष योगेन्द्र केसीले बताए ।
‘१०७ रुपैयाँ डिजेलको मूल्य हुँदा समायोजन भएको भाडा डिजेल १३८ पुग्दा पनि उही छ । इन्धनमा ५ रुपैयाँ बढ्दा भाडा समायोजन गर्ने सहमति भएकोमा समय सापेक्ष र वैज्ञानिक भाडादरको सिद्धान्त लागू भएन,’ उनले भने, ‘अहिलेको अवस्थामा सरकार निर्वाचनकेन्द्रित मात्र भएकोले भाडा समायोजनसम्बन्धी हाम्रो मागप्रति उदासीन रहेको छ । यही बसभाडामा सेवा सञ्चालन गर्न यातायात व्यवसायीहरू असमर्थ रहेकोले भाडा बढाएका हौँ ।’
बन्द हड्ताल गरेर दबाब दिनुकोसट्टा आफैँ भाडा बढाएर सेवा दिने निर्णय अनुसार भाडा वृद्धि गरेको उनले बताए । ‘बन्द हड्तालजस्ता अमानवीय तथा अप्रिय क्रियाकलाप गर्नुभन्दा भाडा बढाएर सेवा सञ्चालन गर्नु नै उपयुक्त हुने निष्कर्षमा पुग्यौँ । हाम्रा सवारी साधन चल्न नसक्ने अवस्था रहकोले रहरले नभई बाध्यताले २० प्रतिशत भाडा वृद्धि गरी सेवा सुचारु गर्ने निर्णय लिन बाध्य भएको हो,’ केसीले भने ।
ज्ञापनपत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य शत प्रतिशत बढ्दासमेत सरकारले चासो नदिएको गुनासो छ । ‘दैनिक उपभोग्य वस्तु शत प्रतिशत मूल्य बढेको छ । यसमा न सरकारको दृष्टि पुगेको छ न त उपभोक्ता मञ्चको ध्यान,’ त्यहाँ लेखिएको छ, ‘दैनिक मूल्य बढेकोबढ्यै गर्दा हामीले गाडी चलाउन सक्ने अवस्था रहेन ।’
२०६५ सालमा वैज्ञानिक भाडादर पुनरावलोकन समिति गठन भएपछि उक्त समितिको प्रतिवेदन अनुसार दुई भागमा वर्गीकरण गरेर १८ तत्वका आधारमा ६५ प्रतिशत र इन्धनलाई ३५ प्रतिशत आधार बनाइएको छ । २०६९ देखि समायोजन नभएको भाडा गत असार अन्तिममा समायोजन भएको थियो । भाडा निर्धारण र समायोजनका लागि सरकारी समिति भएपनि यसपाली व्यवसायीले आफैँले भाडा बढाएका हुन् ।