चिनिया विदेशमन्त्री वाङ यीको यस पटकको भ्रमणको अवसरमा नेपालले दुई देशको सिमा नाकामा गरिएको कडाइ र नेपालको निर्यात अवरोधबारे पनि कुरा उठाउने भएको छ ।
लामो समयपछि हुने वाङको भ्रमणमा हुने वार्तामा उठाइने विषयमा पाइपलाइनमा रहेका परियोजनाहरुबारे छलील गर्ने तयारी गरिएको परराष्ट्र मन्त्रालयस्थित उच्च स्रोतले बतायो ।
कोभिडपछि चीन फर्किन नपाएका नेपाली विद्यार्थीको हितको पक्षमा पनि नेपालले कुरा उठाउनेछ ।
चीनबाट पाकिस्तान र भारतको भ्रमण स्मपन्न गरी शुक्रबार चिनिया विदेशमन्त्री वाङ नेपाल आउनेछन् । उनी शुक्रबार र शनिबार नेपालमा बस्नेछन् ।
भ्रमणका क्रममा उनी पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जाने र 'सफ्ट' उद्घाटन गराउने गरी भ्रमण तालिका बनाउने काम भैरहेको र वार्ताका एजेण्डा तथा भ्रमणस्थलहरु एकीन हुन बाँकी रहेको स्रोतको भनाइ छ । चीन सरकारको सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा छ ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको औपचारिक भ्रमण कार्यक्रमअनुसार चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्ने निश्चित भएको छ ।
‘परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नुहुनेछ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।
नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
दुवै देशका विदेशमन्त्रीको उपस्थितीमा चैत १२ गते काठमाडौंमा नेपाल–चीन उच्चस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्रले जनाएको छ ।
नेपाल भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।